९ हजारसम्मले वढ्यो कारमा लाग्ने वार्षिक कर

काठमाडौं । बागमती प्रदेश सरकारले सबै किसिमका जीप, कार, भ्यानमा लाग्ने वार्षिक कर वृद्धि गरेको छ । प्रदेश सरकारले आजबाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै करका दरमा परिमार्जन गरेको हो । प्रदेश सरकारले १ हजारदेखि ९ हजार रुपैयाँसम्म वार्षिक कर वृद्धि गरेको हो ।

संघीय सरकारले सीसीको आधारमा अन्तःशुल्क निर्धारण गरेसँगै सुरु भएको सवारी साधनको वार्षिक कर प्रदेशले हरेक वर्ष बढाउन थालेको छ । बागमती प्रदेश सरकारले १ हजार सीसीभन्दा कम क्षमताका कारमा २२ हजार वार्षिक कर लाग्ने बनाएको छ । अघिल्लो वर्ष यस्तो कर २१ हजार रुपैयाँ थियो । एक वर्षमा नै वार्षिक कर १ हजार रुपैयाँले बढाइएको हो ।

एक हजार एक सीसीदेखि १५ सीसीसम्मका गाडीमा नयाँ आर्थिक ऐनले १५ सय रुपैयाँ कर बढाएको छ । यसअघि २३ हजार ५०० रुपैयाँ वार्षिक कर लाग्दै आएको यस्ता सवारी धनीले अब २५ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

१५ सय एक सीसीदेखि २ हजार सीसी क्षमताका गाडीमा पनि १५ सय रुपैयाँले वार्षिक कर वृद्धि भएको छ । यसअघि २५ हजार ५०० रुपैयाँ तिर्दै आएका सवारी धनीले अब २७ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ ।

२ हजार एकदेखि २५ सय सीसी क्षमताका सवारी साधन राख्नेले अब ३७ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । यसमा पनि १५ सय रुपैयाँ बढाइएको हो ।

२५०१ सीसीदेखि ३ हजार सीसीसम्मका सवारी धनीले ९ हजार रुपैयाँ बढी तिर्नु पर्ने भएको छ । यसअघि ४१ हजार रुपैयाँ तिर्दै आएकोमा अब ५० हजार तिर्नु पर्ने भएको हो ।

३ हजार सीसीभन्दा माथिका साधनमा भने १५ सय रुपैयाँले मात्रै वृद्धि गरिएको छ । यसअघि ५८ हजार ५०० रुपैयाँ वार्षिक कर तिर्नु पर्ने यस्ता साधनले अब ६० हजार हजार रुपैयाँ तिर्नु पर्नेछ ।


Back_to_top