कारमा के कारण लाग्छ आगो ? यसरी बच्नुहोस्

काठमाडौं । मानिसको व्यस्त जीवनलाई सहज बनाउन कार निकै उपयोगी साधन हो । मानिसको आम्दानीको स्रोत बढेसँगै नेपालमा कार प्रयोग गर्ने बढ्दै गएका छन् ।

गाडी इन्धनबाट चल्ने भएको कारण आगलागीको घटना हुने गर्छन् । गाडीमा आगलागीका घटना सामान्य नै मानिन्छ । तर, केही सावधानी अपनाउने हो भने यस्ता घटनाबाट बच्न सकिन्छ ।

पछिल्ला दिनमा त जुनसुकै गाडीमा आगो लागे पनि समाजिक संजालमा आगलागी भएको भनेर हल्ला गरिन्छ । तर, दुवै किसिमका गाडीमा आगलागी हुन सक्छन् । यसलाई सामान्य मानेर केही सजकता अपनाउनु भने पर्छ ।

किन हुन्छ आगलागी ?

दुई सवारीसाधन एक आपसमा ठोकिँदा होस् वा कुनै ठाउँमा दुर्घटना हुँदा आगलागी हुने सम्भावना धेरै रहन्छ । विद्युतीय गाडीमा इलेक्ट्रीक सर्ट सर्किटको कारण पनि आगलागी हुन्छ ।

कहिले काहीँ गाडीको तेल चुहिएर पनि आगलागीका घटना हुने गर्छन् । पेट्रोल, डिजेल र सीएनजी कारहरूको इन्जिन बढी तात्दा पनि आगलागीका घटना हुने गर्छन् ।

सयममा नै सर्भिसिङ नगर्दा पनि गाडीको इन्जिन बिग्रिएर आगलागी हुन सक्छ । कहिले काहीँँ गाडीमा चुरोट सल्काउँदा होस् वा लाइटर जस्ता अति प्रज्वलनशील वस्तुको प्रयोग गर्दा पनि आगलागी हुन सक्छ ।

विद्युतीय कारको हकमा हाइ भोल्टेज ब्याट्री ठोकिएर प्वाल पर्दा, चार्जिङमा राख्दा इलेक्ट्रीकल समस्या आए वा कारको वाइरिङमा समस्या आउँदा पनि आगलागी हुनसक्छ ।

सेन्ट्रल लकिङ झनै समस्या

आजकलका आधुनिक कारमा सेन्ट्रल लकिङ सिस्टम दिइएको हुन्छ । यसले गर्दा आगोलागी हुने झनै खतरा बढाउँछ । चलिरहेका कारमा आगोलागी हुँदा पनि विशेष ध्यान पुर्याउनु पर्छ ।

गुड्दागुड्दै कारबाट धूवाँ निस्केको खण्डमा तत्काल गाडी रोक्नुपर्छ । त्यसपछि इन्जिन बन्द गर्ने र कारबाट बाहिर निस्कनु पर्छ । यदि ढोका लक भएको छ भने सिसा तोडेर भए पनि बाहिर निस्कनु उपयुक्त हुन्छ ।

विशेषगरी कारको अगाडिको भागमा नै आगलागी हुने भएको कारण झुक्किएर पनि कारको बोनेट खोल्नु हुँदैन ।


Back_to_top