५० देखि ६५ लाख मूल्यका कारमा आकर्षण, कसले किन्दै छन् ?

काठमाडौं । अहिले नेपाली बजारमा १४ लाखदेखि ५ करोड मूल्यका कार सहजै किन्न पाइन्छ । मूल्यका हिसाबले धेरै छनोट रहे पनि ५० लाखदेखि ६५ लाख मूल्यका कारको बिक्री सबैभन्दा धेरै भएको देखिन्छ ।

बजारमा उपलब्ध पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा विद्युतीय कारको बिक्री धेरै छन् । जसमा मूल्यका हिसाबले ५० लाखदेखि ६५ लाख रुपैयाँसम्मका कार धेरै बिक्री भएको पाइन्छ ।

अहिले बजारमा बीवाइडी एटो-थ्री, एमजी जेडएस ईभी, सेरेस-थ्री, ओमोडा ई-५, हुन्डाई कोना ईभी जस्ता मोडल ६५ लाख भित्र पाइन्छ । यी मध्ये बीवाइडी एटो-थ्रीले बजारलाई लिड गरिरहेको छ ।

विद्युतीय कारको अलावा अन्य धेरै बिक्री हुने मोडलमा हुन्डाई क्रेटा र भेन्यू, किया सेल्टोस र सोनेट, सुजुकी ग्राण्ड भिटारा र ब्रेजा, स्कोडा कुशक र फक्सवागेन टाइगुन जस्ता मोडल छन् । यी कारको बिक्री पनि औषत भइरहेको छ ।

समग्रमा पछिल्लो एक वर्षको अवधिमा ५ हजार यूनिटभन्दा बढी ५० देखि ६५ लाख मूल्यका कार बिक्री भएका छन् । यसले नेपालको प्यासेन्जर कार बजारलाई नै उथलपुथल बनाउँदै आएको भन्न सकिन्छ ।

कसले किन्दैछन् यी गाडी ?

एसयूभी चाहने र इलेक्ट्री गाडी चढ्न खोज्ने धेरेको रोजाइमा यो सेग्मेन्ट पर्दै आएको छ । मध्यम स्केलको व्यवसाय गर्ने व्यवसायी, इन्जिनीयर, डाक्टर लगायत प्रोफेसनलहरूको रोजाइमा यो सेग्मेन्ट परेको हो ।

मासिक रूपमा ८०/८५ हजारसम्म किस्ता तिर्न सक्ने मानिसले यो सेग्मेन्टका गाडी किन्दै आएका हुन् । उनीहरूले मध्यम साइजको गाडी भएकै कारण यस्ता एसयूभी किन्दै आएका हुन् ।

किन बढ्यो यो सेग्मेन्टमा आकर्षण ?

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने गाडीहरू स्टाइलिस डिजाइनको कारण परिचित छन् । साथै, लग्जरी कारमा पाइने फिचर र आकर्षक मूल्यले धेरैलाई यो सेग्मेन्टमा तानेको हो ।

यसका अलावा उच्च ग्राउन्ड क्लियरेन्स यो सेग्मेन्टको अर्को आकर्षण हो । नेपालका धेरै सडकमा साना कार चलाउन कठिन हुने भएको कारण धेरै ग्राउन्ड क्लियरेन्स भएका गाडी खोज्ने गरिन्छ ।

यही सेग्मेन्टमा धेरै विद्युतीय कार हुनुले पनि यो सेग्मेन्टलाई माथि उचालेको हो । कम संचालन खर्च, घरमै चार्ज गर्न सकिनु र वातावरणमैत्री नाराले पनि धेरैलाई आकर्षित गरेको पाइन्छ ।


Back_to_top