लाखौँ रुपैयाँ लगानी गरेर किनिएको कारको माया सबैलाई हुन्छ । त्योभन्दा धेरै चासो कारमा सवार हुने आफ्नै ज्यानको हुन्छ । कारका विभिन्न पार्टपूर्जाहरू मिलेर बनेको हुनाले त्यसको पनि निश्चित आयु हुन्छ ।
त्यसैले कारमा प्रयोग हुने धेरै कुराबारे चालक तथा कारप्रेमीहरू जानकार नै हुन्छन् । यहाँ सुरक्षित र तनावमुक्त ड्राइभिङ्गका लागि अपनाउन सकिने उपायकाबारेमा उल्लेख गरिएको छ ।
ब्रेक
कारको सबैभन्दा महत्वपूर्ण पार्टमध्येको एक हो, ब्रेक । हिलोआज मानिसहरूलाई अत्यन्त हतारो हुन्छ र उनीहरू आफ्नो सवारी अधिकतम् गतिमा कुदाउने प्रयास गर्छन् । यस्तो अवस्थामा ब्रेक कम लाग्ने वा नलाग्ने हुँदा दुर्घटनाको सम्भावना अधिक हुन्छ । त्यसैले ब्रेकको मर्मत तथा यसको चेक–जाँच गराई रहनुपर्छ ।
रेगुलर गरिने कार सर्भिसिङ्गका क्रममा ब्रेकसमेत चेक गर्न लगाउनुपर्छ । समय–समयमा ब्रेकप्याड चेक नगराउने हो भने समस्या आउन सक्छ । हरेक दुई वर्षमा ब्रेकप्याड फेर्नु पर्दछ ।
टायर
त्यस्तै, गाडीको अर्को महत्वपूर्ण पार्ट हो, टायर । सुरक्षित यात्राका लागि निश्चित समयमा टायर परिवर्तन गर्नुपर्छ । त्यस्तै, टायरमा हावा कति छ भन्ने कुरा समय–समयमा जाँच गर्नुपर्छ । टायरमा निश्चित हावाको प्रेसर भयो भने यात्रा सुरक्षित बनाउन मद्दत गर्छ । टायरमा हुने हावा मौसम तथा लामो यात्रा गर्दा भने फरक हुन्छ । कारको टायर हरेक पाँच वर्ष वा त्यसको कन्डिसनअनुसार परिवर्तन गर्नुपर्छ ।
कुलेन्ट
रेडिएटरमा भरिने लिक्विडले दुई काम गर्न सक्छ । यसले कुलिङ सिस्टम चुस्त राख्ने र एन्टिफ्रिजको भूमिकासमेत निर्वाह गर्छ । कारको पार्ट फेर्दा यो कुरामा समेत ध्यान दिनुपर्छ । यसको लेवल नियमितरुपमा चेक–जाँच गर्नुपर्छ र सफा गर्ने विषयमा समेत ध्यान दिनुपर्छ । कुलेन्ट हरेक दुई वर्षमा परिवर्तन गर्नुपर्छ ।
इञ्जिन बेल्ट
इञ्जिन बेल्ट चुँडिनुपूर्व नै परिवर्तन गर्नुपर्छ । एउटामात्र बेल्ट चुँडिदा पनि त्यसले ठूलै समस्या निम्त्याउन सक्छ । त्यसैले यसबारेमा सचेत हुनुपर्छ । करिब तीन वर्षको अवधिमा इञ्जिन बेल्ट परिवर्तन गर्नु राम्रो हुन्छ ।
स्पार्क प्लग
स्पार्क प्लग कारमा प्रयोग हुने सानो पार्टमध्येको एक हो । तर, यो निक्कै महत्वपूर्ण हुन्छ । यो निश्चित समयमा परिवर्तन गर्नुपर्छ । सर्भिसिङ्ग गर्नुपूर्व तोकिएको माइलेज पार गरेपछि स्पार्क प्लग परिवर्तन गर्नुपर्छ । समयमै त्यो परिवर्तन गरिएन भने प्रदूषण जाँच–पास फेल हुनसक्छ । कार ७० हजार किलोमिटर कुदेपछि चेक गरेर परिवर्तन गर्नुपर्छ ।
ट्रास फ्लूड एवं फिल्टर
कारको फ्लूड निश्चित अवधिमा परिवर्तन गर्नुपर्छ । चेक–जाँच गरेर योसँगै फिल्टरसमेत परिवर्तन गर्नुपर्छ । हरेक दुई वर्षमा कारको ट्रास फ्लूड एवं फिल्टर परिवर्तन गर्नुपर्छ ।
एयर फिल्टर
मानिसले श्वास फेरेजस्तै गरी सवारीका लागि पनि हावाको आवश्यकता पर्दछ । कारमा प्रयोग हुने फिल्टर सफा हुनुपर्छ । धेरै फोहोर जम्यो भने त्यसले राम्रोसँग हावा दिन सक्दैन । त्यसैले निश्चित समयमा एयर फिल्टर फेर्नुपर्छ । कारमा हरेक १२ महिनापछि एयर फिल्टर फेर्नुपर्छ ।
ब्याट्री
कारमा ब्याट्री अर्को महत्वपूर्ण पार्ट हो । ब्याट्रीले गाडी स्टार्ट गराउनेदेखि बत्ती बाल्ने काम गर्छ । निश्चित समयमा ब्याट्री सफा गर्ने र चार्ज गर्ने गरिएको छ भने त्यो पनि आवश्यकताअनुसार परिवर्तन गर्नुपर्छ । कारको ब्याट्री ४८ देखि ६० महिनामा फेर्नुपर्छ ।
पावर स्टेरिङ
यदि कार पावर स्टेरिङयुक्त हो भने त्यसमा हुने तरल पदार्थको निक्कै महत्व हुन्छ । यसबारेमा आफूले सर्भिस गर्ने केन्द्र वा कम्पनीको आधिकारीक सर्भिस सेन्टरमा गएर यसको चेक–जाँच गराउनु पर्छ । इञ्जिन आयल फेर्दा यसको पनि परीक्षण गराउनुपर्छ ।


