काठमाडौं । विश्वभर वार्षिक १० करोड यूनिट हाराहारी नयाँ चार पाङ्ग्रे सवारीसाधन विक्री हुने गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै कारको विक्री हाम्रो छिमेकी देश चीनमा विक्री हुन्छ ।
चीनपछि अमेरिका, जापान, भारत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, रसिया, फ्रान्स, बेलायत, क्यानडा, इटली, अष्ट्रेलिया, मेक्सीको, इन्डोनेशिया, इरान, स्पेन, टर्की, थाइल्याण्ड, साउदी अरेविया, पोल्याण्ड, साउथ अफ्रिका, बेल्जीयम, अर्जेन्टीना, नेदरल्याण्ड जस्ता देशहरु धेरै कार विक्री हुने देशको सूचीमा पर्छन् ।
यी २५ देश मध्ये चीनले विश्वमा विक्री हुने कारको झण्डै २० प्रतिशत कार एक्लै उपभोग गर्छ । त्यसपछि अमेरिका, जापान, भारत र जर्मनी सूचीमा क्रमशः पाँचौ स्थानसम्म पर्छन् ।
चीनमा सन् २०२१ मा २ करोड १४ लाख ८२ हजार ३७४ यूनिट कार विक्री भएको थियो । त्यसमा सबैभन्दा धेरै कार फक्सवागेनले विक्री गरेको थियो । फक्सवागेनले चीनमा एक वर्षमा २४ लाख २८ हजार १३७ यूनिट कार सन् २०२१ मा विक्री गरेको हो ।
त्यसैगरी दोस्रो स्थानमा रहेको टोयोटाले १९ लाख ४४ हजार ४८७ यूनिट कार विक्री गर्दा अर्को जापानी ब्राण्ड होन्डाले १५ लाख ६१ हजार ५३५ यूनिट कार विक्री गर्न सफल भएको थियो ।
धेरै गाडी विक्री हुने सूचीको दोस्रो स्थानमा रहेको अमेरिकामा १ करोड ४९ लाख ४७ हजार १८० यूनिट कार विक्री भएको थियो । सन् २०२१ मा अमेरिकी बजारमा सबैभन्दा धेरै १९ लाख ३२ हजार ९७४ यूनिट कार टोयोटाले विक्री गरेको थियो । दोस्रो र तेस्रो स्थानमा अमेरिकी ब्राण्ड फोर्डले १८ लाख ४ हजार ६९८ र सेभ्रोलेटले १४ लाख ६९ हजार २३२ यूनिट कार विक्री गरेको थियो ।
जापान धेरै कार विक्री हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ । यहाँ सन् २०२१ को एक वर्षमा ४४ लाख ४८ हजार ३७६ यूनिट कार विक्री भएको थियो । जसमा धेरै विक्री गर्ने तीन ब्राण्ड नै जापानी हुन् । टोयोटाले १३ लाख ८९ हजार २४६ यूनिट सहित पहिलो स्थान ओगट्दा सुजुकीले ६ लाख ९ हजार ३७९ यूनिट सहित दोस्रो स्थान र होन्डाले ५ लाख ७९ हजार ७११ यूनिट सहित तेस्रो स्थान ओगटेको थियो ।
सन् २०२१ मा २७ प्रतिशतले कार विक्री बढाउँदै भारत विश्वकै चौथो धेरै कार विक्री हुने देश बनेको हो । भारतले जर्मनीलाई उछिनेर चौथो बनेको हो । भारतमा सबैभन्दा धेरै मारुती सुजुकीको कार विक्री हुने गरेको छ । ३० लाख ८२ हजार ९७४ यूनिट कार विक्री हुँदा सुजुकी एक्लै १३ लाख ६५ हजार २१२ यूनिट कार विक्री गर्न सफल भएको थियो । दोस्रो स्थानमा रहेको कोरियन कार ब्राण्ड हुन्डाईले ४ लाख ९८ हजार र तेस्रो स्थानमा भारतीय ब्राण्ड टाटाले ३ लाख ३१ हजार यूनिट कार विक्री गरेको थियो ।
कार धेरै विक्री हुने देशको सूचीमा जर्मन पाँचौ स्थानमा छ । जर्मनीमा सन् २०२१ मा २६ लाख ३७ हजार ३४१ यूनिट कार विक्री भएको थियो । जर्मनीमा पनि आफ्नै देशको सर्वाधिक सफल र ब्राण्डहरुको गाडी नै धेरै विक्री भएको छ । जर्मनीमा फक्सवागनले ४ लाख ८९ हजार ४७८ यूनिट कार सहित पहिलो स्थान लिँदा दोस्रो स्थानमा मर्सिडिज बेञ्च २ लाख २४ हजार ९७७ यूनिट सहित छ । त्यस्तै तेस्रो स्थानमा पनि अर्को लग्जरी ब्राण्ड २ लाख २३ हजार १२१ यूनिट विक्री गरेको थियो ।


