साना मोटरसाइकल किन्ने पैसाले घर लान सकिने ४ इलेक्ट्रीक कार

काठमाडौं । चीनमा उत्पादन भएका साना मिनी ईभी नेपाल आउन थालेका छन् । पछिल्ला तीन महिनामा ३० लाखभन्दा कम मूल्यका ४ नयाँ मोडल नेपाल आउने टुङ्गो लागेको हो । यी सबै साना कारहरु ४ देखि ६ लाख रुपैयाँ डाउन पेमेन्ट तिरेर खरिद गर्न सकिन्छ । यो रकम अहिले राम्रा साना १५० सीसी क्षमताका मोटरसाइकलको नै पर्छ ।

अहिले बजारमा उपलब्ध ईभी ३० लाखभन्दा माथि मूल्य रहेकोमा धेरै ग्राहकले कम मूल्यका ईभी खोजी रहेको समयमा चीनबाट साना ईभी नेपाल आउन थालेका हुन् । अहिले नेपाल आएका र आउन लागेका अधिकांश साना ईभी सहरी क्षेत्रलाई ध्यानमा राखेर उत्पादन भएका मोडल हुन् ।

विशेषगरी चल्तीका ब्राण्ड विक्री गर्ने ब्यवसायीभन्दा पनि साना ईभी नयाँ ब्यवसायीले नेपाल ल्याइरहेका छन् । बज्र गुपले एसएआईसी, विलिङ र जनरल मोटर्सको संयुक्त लगानीमा तयार भएको विलिङ एयर मिनी नेपाल ल्याएको छ ।

त्यसैगरी चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले ‘जीयाङ्सु हाउजी अटो’ले उत्पादन गरेको ‘आमाई मिनी’ ईभी नेपाल ल्याउन लागेको हो । त्यसैगरी जीमीनी इन्कर्पोरेट प्रालिले रेसेन्स मिनी ईभी नेपाल ल्याउन लागेको हो ।

नेपालमा अहिले विक्री वितरण सुरु भइसकेको हेनरीको मिनी ईभी भने पायोनियर वल्र्ड वाइड प्रालिले नेपाल ल्याएको हो । यी सबै मिनी कार अलग अलग विशेषता भएका कार हुन् । विशेषगरी प्रदुषण रहित साना सवारी साधन चाहने मानिसको लागि यी कार उपयोगी बन्न सक्छन् ।

हेनरी टाइगर

पायोनियर वल्र्डले ल्याएको सानो इलेक्ट्रीक ह्याचव्याक ‘हेनरी’को मूल्य २४ लाख हारहारी पर्छ । कम्पनीको अनुसार एक पटकको फुल चार्जमा १८५ किलोमिटर रेन्ज दिने यो कारमा १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । अधिकतम ३५ किलोवाट क्षमताको मोटर दिइएको यो ईभीमा रियर ह्वील ड्राइभ सिस्टम उपलब्ध छ ।

अत्याधुनिक टेक्नलोजीमा आधारीत विद्युतीय गाडी भएको कारण यसमा धेरै फिचर उपलब्ध रहेका छन् । यसको फ्रन्ट फेसिया फ्यूचरीस्टीक ईभी डिजाइनबाट प्रेरित रहेर तयार गरिएको छ । चालक सहित ४ जनाको लागि आरामदायी सिट, म्यानुयल एसी, थ्री प्वइन्ट सिट बेल्ट, एबीएस, इबीडी र हिल होल्ड एसिस्ट जस्ता फिचर छन् ।

विलिङ एयर मिनी

बज्र ग्रुपले नेपाल ल्याएको विलिङ मिनीको लङ रेन्ज मोडलको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले २८.४ किलोवाट आवरको ब्याट्री दिएको छ । ३० किलोवाट क्षमताको मोटर जडान भएको कारले सिंगल चार्जमा ३०० किमि रेन्ज दिने कम्पनीको दावी छ ।

चार सिट अप्सनमा नेपाल आउने विलिङ एआई फिचर भएको मिनि ईभी हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।

हाउजी आमाई मिनी

चिनियाँ जीयाङ्सु हाउजी अटोले उत्पादन गरेको ‘आमाई’ मिनी ईभी अबको एक महिना भित्रै नेपालमा विक्री सुरु हुन लागेको छ । मिनी ईभी भएपनि यो फोर ह्वील ड्राइभ अप्सनमा आउने कार हो । थ्री डोर अप्सनमा आउने आमाईमा चालक सहित ४ जनाले आरामदायी यात्रा गर्न सक्नेछन् ।

आमाई मिनी ईभीमा १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री प्याक रहने छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्जमा २२५ किलोमिटरसम्म गुडाउन सकिने सिजी मोटर्स स्रोतले दावी गरेको छ । कारमा २४ किलोवाट क्षमताको मोटर उपलब्ध हुनेछ । टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघण्टासम्म रहने छ ।

१५ इन्चको ठूलो ह्वील, आकर्षक रेट्रो डिजाइन, राउण्ड क्रिस्टल प्रोजेक्सन हेडलाइट र राउण्ड आकारमै दिइएको डीआरएल यसको यूनिक डिजाइनलाई झल्काउन काफी हुन्छ । अहिल्यै मूल्य एकिन नभएपनि यसको सुरुवाती मूल्य २० लाख हाराहारी रहने छ ।

रेसेन्स मिनी ईभी

रेसेन्स मिनी ईभी उच्च ग्राउन्ड क्लियरेन्स भएको कार हो । यसमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । जीमीनी इन्कर्पोरेट प्रालिले सुरुमा २५ लाख रुपैयाँ मूल्य निर्धारण गरेर यो मिनी कारको बुकिङ सुरु गरेको छ ।

रेसेन्स मिनी ईभीको छतमा शोलार प्यानल पनि छ, यसको सहायताले गाडीको रेन्ज ३० प्रतिशतले बढ्ने कम्पनीको दावी छ । चिनियाँ बजारमा उत्पदान भएको यो कारलाई सिंगल चार्जमा ३०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

सानो मिनी कार भएको कारण यसमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसमा मोटर भने केवल १५ किलोवाट क्षमताको छ । सामान्य घरायसी बिजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिने यो कारको टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top