काठमाडौं । विश्वभर सेमीकन्डक्टरको समस्याको कारण सन् २०२१ को अन्त्यदेखि भारतमा धेरै उत्पादकले आफ्नो क्षमता अनुसार गाडी उत्पादन गर्न पाएनन् । यही कारण सप्लाई चेनमा समस्या आउँदा धेरै ग्राहकले गाडी कुर्नु पर्ने अवस्था आयो ।
अहिले चीप्सको सप्लाई बढेसँगै गाडी निर्माताले सप्लाई बढाएपनि केही खास मोडलहरु अझै दुई वर्ष कुर्नु पर्ने अवस्था रहेको छ । भारतीय बजारमा पछिल्लो समय लन्च भएका एसयूभीको माग सबैभन्दा बढी रहेको छ ।
सबैभन्दा धेरै ग्राहक महिन्द्राका गाडी कुरेर बसेका छन् । पछिल्लो समय लन्च भएको महिन्द्रा स्कर्पियो एन खरिद गर्ने ग्राहकले २४ महिनासम्म कुर्नु पर्ने अवस्था रहेको छ ।
दोस्रो धेरै वेटिङ पिरीयड रहेको गाडी महिन्द्राकै प्रिमियम एसयूभी एक्सयूभी ७०० हो । यसलाई किन्ने ग्राहकले १५ महिना कुर्नु पर्ने बताइएको छ । भारतमा उच्च माग भएपनि आयात खुल्ला भएसँगै यी दुबै मोडल नेपाल पनि आउने छन् ।
महिन्द्रापछि कोरियन ब्राण्डको किया तथा हुन्डाईका मिडसाइज एसयूभी खरिदमा वेटिङ पिरियड धेरै छ । कियाको सोनेट १० महिना तथा हुन्डाईको क्रेटा ८ महिना कुरेपछि मात्रै ग्राहकले पाउने छन् । हुन्डाईकै भेन्यू खरिद गर्न ६ महिना वेटिङ पिरियड रहेको बताइन्छ ।

