काठमाडौं । महंगो टेक्नोलोजीको कारण विश्वका अधिकांश देशमा ईभीको मूल्य धेरै पर्छ । नेपालमा सरकारले कम्बस्चनको तुलनामा ज्यादै न्यून कर लगाएको कारण मात्रै ईभीको मूल्य केही कम भएको हो ।
आर्थिक रुपले सम्पन्न देशहरुले ईभीमा ठूलो धनरासी अनुदान दिएर नागरिकलाई उपभोग गर्न प्रेरित गरिरहेका छन् । त्यसैले विश्व अटोमोवाइल बजारमा ईभीको माग र चर्चा दुबै बढेको छ । तर, ईभी उत्पादन गर्ने कम्पनीहरु ठूलो घाटामा रहेको समाचार बाहिर आएका छन् ।
सन् २०२२ सेप्टेम्बर महिनासम्मको रिपोर्टलाई आधार मान्ने हो भने, धेरै जसो ईभी स्टार्टअप कम्पनीहरुले ठूलो घाटा व्यहोरिरहेका छन् ।
ईभी उत्पादनमा आक्रमक कदम चालेका लुसिड ग्रुप इंक होस् वा रिभियन अटोमोटीभ इंक यी कम्पनीले आफ्नो प्रत्येक कारको विक्रीमा हजारौँ डलर घाटा व्यहोरिरहेका छन् । विश्व वजारमा बढिरहेको कच्चा पदार्थको मूल्य र उत्पादन लागतका कारण यी कम्पनीहरुले ठूलो रकम घाटा ब्योहोर्नु परेको मानिन्छ ।
विश्वव्यापी बढ्दै गएको आर्थिक मन्दी, मूल्य वृद्धि र सप्लाई चेनमा देखिएको समस्याको कारण कम्पनीहरुको लागत उच्च भएसँगै प्रत्येक गाडी विक्रीमा घाटा हुन थालेको रिपोर्टमा उल्लेख छ ।
लुसीड ग्रुप इंकको कस्ट अफ रेभिन्यू अघिल्लो क्वाटरमा ३.३ मिलियन डलर रहेकोमा जुलाईदेखि सेप्टेम्बरको क्वाटरमा आइपुग्दा ४९२.५ मिलियन डलर पुगेको छ ।
साउदी अरबको पव्लिक फण्डको इन्भेन्टमेन्टपछि पब्लिक भएको लुसिडको भ्यालु दुई तिहाइले घटेको छ । सन् २०२१ को नोभेम्बरमा पब्लिकमा गएको समयमा ९५ बिलियन डलर भ्यालुएसन भएको कम्पनीको हालको भ्यालुएसन २० बिलियनमा झरेको हो । कम्पनीले एक वर्षभन्दा छोटो समयमा ७५ विलियन डलरको मूल्याङ्कन गुमाएको छ ।
पछिल्लो क्वाटरको रिपोर्ट सार्वजनिक भएसँगै लुसिडको स्टक प्राइस पनि १७ प्रतिशतले घटिसकेको छ ।


