चाबहिल-गौशाला सडकखण्ड निर्माण एक महिनामा पूरा हुने

काठमाडौं । सडक विभागले एक महिना भित्र गौशाला-चाबहिल सडक निर्माण सम्पन्न गर्ने भएको छ । विभागका महानिर्देशक केशव कुमार शर्माका अनुसार विभागले लक डाउनको अवस्थाको सदुपयोग गर्दै कामलाई गति दिएको हो ।

उनले विभागले अन्य स्थानहरुमा समेत पुल तथा सडक निर्माणलाई सक्दो चाँडो पुरा गर्ने लक्ष्य राखेको बताए ।

हामीले यो लक डाउनमा सुरक्षा अपनाएर भएका मजदुरबाटै सडक र पुल निर्माणलाई पुरा गर्न लागेका छौँ । त्यसमा चाबहिल–गौशाला सडक खण्ड पनि पर्छ । उनले भने ‘यो एक महिनामा चाबहिल–गौशाला खण्डको सडक निर्माण पुरा गर्ने छौँ ।’

चाबहिलदेखि गौशालाको १२ सय मिटर सडकमा बारम्बार खानेपानीका पाइपहरु फुट्ने समस्याले जति पटक सडक बनाए पनि पानीले बिगार्ने गरेको थियो । हाल सडक विभागले खानेपानीसँग सहकार्यगरी आफै खानेपानीका पाइपहरु मिलाउदै सडक कालोपत्रे गर्ने काम सुरु गर्न लागेको हो ।

विभागका प्रवक्ता शिवहरी सापकोटाले सेफ्टी माक्स, पन्जा, हातधुने साबुन लगायतका सामग्रीहरु फिल्डमै राखेर कामलाई तिब्रता दिइरहेको बताए ।

उनका अनुसार हालसम्म पाइपलाई मिलाउने काम सकिसकेको छ । अब सडकमा लेबलीङ, फाउनडेसन, कालोपत्रे लगायतका काम मात्र बाँकी रहेको उनले जानकारी दिए ।

उनले सडकमा काम गर्ने कामदारहरुलाई धेरै भिडभाड नगरी भए जती कामदारलाई सक्दो चाँडो काम सक्ने गरि खटाइएको बताए ।

विभागले चाबहिल-गौशाला सडक खण्ड निर्माण चैत्र महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको थियो । काम ढिला सुरु भएका कारणले लक्ष्यमा सडक निर्माण सम्पन्न हुन सकेको थिएन । साथै कोरोनाका कारण लक डाउन सुरु भएपछि सडक निर्माणको कामले गति लिन सकेको थिएन ।

यस्तै विभागले विभिनन जोखिम सृजना हुन सक्ने र वर्षामा विग्रीन सक्ने पुल तथा सडकहरु निर्माणलाई तिब्रता दिएको छ ।

विभागले देशभर रहेका सडकहरुमा वर्षामा हुन सक्ने जोखिमलाई ध्यान दिदै सडक कालोपत्रे तथा पुल निर्माणको काम सुरु गर्न लागेको हो ।

निर्माणाधिन अवस्थामा रहेका मध्ये धेरै पुल ढलान गर्न बाँकी रहेको र वर्षामा बाढि पहिरोले जोखिममा देखिएका यी पुलहरुलाई सरकारले गृहमन्त्रालय र सडक विभागको समन्वयनमा निर्माण गर्न लागेको हो ।

देशभर ५०/६० वटा वर्षा मौसममा जोखिम हुन सक्ने पुलहरु रहेका छन् । जसको मर्मत तथा निर्माण समयमा पुरा नभए खतारा हुन सक्छ ।

सरकारले यसलाई मध्ये नजर गर्दै हरेक प्रदेश तथा क्षेत्रहरुमा यस्तो पुल तथा सडक रहेको खण्डमा त्यसको निर्माणको माग आएमा गृहमन्त्रालयको स्विकृतिमा निर्माण गरिने छ ।

यसैगरी देशभर निर्माणाधिन अवस्थामा रहेका सडकहरु पनि अहिले निर्माण नभएपछि जोखिम हुन सक्ने अवस्थामा रहेको खण्ड छनोटगरि त्यसलाई पनि तत्काल निर्माण गरिने सापकोटाले बताए ।

जेठदेखि बर्षा सुरु हुने हुँदा त्यस समयमा कुनै जोखिम सृजना नहोस भनेर विभागले तिब्र गतिमा सडक तथा पुल निर्माणको कामलाई अघि बढाएको उनले बताए ।

‘हामीले अहिलो निर्माण नगरे जोखिम सृजना हुन सक्ने खालका सडक तथा पुलहरु निर्माणलाई तिब्रताका साथ अघि बढाएका छौँ, जिल्लाहरुबाट पुल तथा सडक निर्माण तत्काल हुनुपर्ने माग आएमा हामीले त्यसलाई तिब्रताका साथ पुरा गर्ने छाँै,’ सापकोटाले भने ।


Back_to_top