काठमाडौं । लामो समयसम्म निर्माण हुन नसक्दा अस्तव्यस्त बनेको चाबहिल साँखु सडकखन्ड अहिले द्रुतगतिमा काम भइरहेको देखिन्छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीन वर्षअघिदेखि उक्त सडकखन्ड विस्तारको काम अघि बढाएको थियो । कहिले स्थानीय बासिन्दाको अवरोध त कहिले अन्य प्राविधिक कारणले उक्त सडक विस्तारमा ढिलाई हुँदैआएको थियो ।
कुल लम्बाई १२.५ किलोमिटर सडकखन्ड रहेको चावहिल–साँखु सडकमा सबैभन्दा ठूलो समस्या स्थानिय अबरोध रहेको छ । मूलपानी, थली, डाँछी, इन्द्रेणी र खुलालटारमा रहेका सडक छेउका घर टहराहरु मुअब्जा लिएरपनि नभत्काइदिदा अझै समस्या ज्यूका तिउँ रहेको छ ।
तोकिएको समयमा काम सक्न नसके पछि यस सडकखन्डको विस्तारका लागि पटक–पटक समय थप गरिँदैआएको छ ।
आगामी चैतसम्ममा सक्नेगरी चावहिल–साँखु सडकखन्डको काम अघि बढिरहेको सडक विभागका महानिर्देशक रबिन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।
अहिले उक्त सडकखन्डको नारायणटारदेखि थलिसम्मको कालोपत्रे काम सुरु भएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।
तर, अधिकांस स्थानमा घर तथा टहरा हटाउने काम नै बाँकी रहेकाले चैतसम्ममा सडक बिस्तार पुराहुन कठिन हुने देखिन्छ ।


