चांगानको कारमा ‘सोडियम आयन ब्याट्री’, यस्तो हुनेछ रेन्ज

काठमाडौं । चिनियाँ ब्याट्री जाइन्ट सीएटीएलले उत्पादन गरेको पहिलो मास प्रोडक्सन सोडियम आयन ब्याट्री चांगानको कारमा प्रयोग भएको छ ।

चांगानको निभो ब्राण्डमा उत्पादन भएको ए-०६ मोडलमा पहिलो सोडियम आयन ब्याट्री प्रयोग भएको हो । कम्पनीले बुधबार सार्वजनिक गरेको ए-०६ मोडलमा ४५ किलोवाट आवरको सोडियम आयन ब्याट्री दिइएको छ । कम्पनीको दाबी अनुसार उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा ४०० किलोमिटर गुडाउन सकिनेछ ।

सीएटीएलको थर्ड जेनेरेशन ‘सेल टु प्याक’ टेक्नोलोजीमा आधारित ब्याट्रीको इनर्जी डेनसिटी १७५ वाट आवर/केजी रहेको छ । जुन अहिले चल्तीमा रहेको एलएफपी ब्याट्री शो-सरह नै हो ।

चांगानका अनुसार सोडियम आयन ब्याट्री कम तापक्रम भएको स्थानमा काम गर्न सक्ने, सुरक्षित र डिस्चार्ज पनि सजिलै गर्न मिल्ने छ । लिथियम आयन ब्याट्रीको तुलनामा माइन ३० डिग्री चिसो स्थानमा यसको पर्फमेन्स तीन गुणा राम्रो हुनेछ ।

चिनियाँ उत्पादकका अनुसार निकट भविष्यमा नै कम्पनीले आफ्नो न्यू इनर्जी भेहिकल ब्राण्डहरू अवतार, दीपल, नेभोका धेरै नयाँ मोडलमा सोडियम आयन ब्याट्री प्रयोग गर्नेछ । कम्पनीका अनुसार नयाँ मोडलमा ५०० देखि ६०० किलोमिटर रेन्ज प्रदान गर्न सक्ने ब्याट्री प्याक प्रयोगमा आउने छ ।

दीपलका विद्युतीय कार नेपाली बजारमा पनि निकै सफल मानिन्छन् । एमएडब्लू वृद्धिले बिक्री वितरण गर्दै आएको दीपलका एसयूभीहरू लुक्स, डिजाइन, फिचर र लग्जरीको लागि परिचित छन् ।


Back_to_top