काठमाडौंका सडकमा ७ हजार ‘क्याट्स आइ’ राखिँदै

सांकेतिक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सडकमा ७ हजार क्याट्स आइ (चम्किला रिफ्लेक्टर) राख्ने भएको छ ।

रातको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न महानगरले सडकमा टल्किने बत्ती राख्ने भएको हो ।

महानगरले सडकमा क्याट्स आइ राख्न टेन्डर आह्वान गरेको हो । कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले क्याट्स आइ राख्न टेन्डर आह्वान गरिसकेको जानकारी दिए ।

उनले चाँडै टेन्डर प्रक्रिया टुंग्याई काम सुरू गरिने बताए । उनका अनुसार लैनचौर, कालोपुल, बानेश्वर, टुँडीखेल वरपर, सिंहदरबार, खुसिबु, कुलेश्वर, थापागाउँ, नयाँबजार, छाउनी लगायत स्थानमा क्याट्स आइ राख्न लागिएको हो ।

यसका लागि ६७ लाख रुपैयाँ खर्च हुनेछ । क्याट्स आई राखेपछि रातको समयमा सवारीसाधनलाई आफ्नो आवतजावत गर्ने एरिया स्पष्ट हुने र दुर्घटना कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।

त्यस्तै, महानगरले सडक विभागसँगको सहकार्यमा सडक चिह्न राख्ने (मार्किङ)को काम पनि थालेको छ । धेरै स्थानमा यसअघिका सडक चिन्ह मेटिएकाले पुनः मार्किङ गर्न सुरू गरेको हो । स्पष्ट सडक चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।


Back_to_top