चीनका दुई ब्याट्री उत्पादकको कब्जामा ५५ प्रतिशत बजार

काठमाडौं । विश्वव्यापी विद्युतीय कारको माग बढ्दै जाँदा ब्याट्री उत्पादकको उत्पादन पनि तीव्र गतिमा बढ्दै गएको छ । चिनियाँ ब्याट्री उत्पादक कम्पनी सीएटीएल र बीवाइडीको फिन ड्रिम्सले मिलाएर ५५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएका छन् ।

चीनका यी दुई ठूला ब्याट्री उत्पादकले आफ्नो उत्पादन ठूलो परिमाणमा बढाएका छन् । सीएटीएलले एक वर्षमा ४६४.७ गिगावाट आवर ब्याट्री उत्पादन गर्यो । यसले सन् २०२४ मा ३४२.५ गिगावाट आवर मात्रै उत्पादन गरेको थियो । कम्पनीले २०२५ मा आफ्नो उत्पादन र बिक्री दुवै ३५.७ प्रतिशतले बढाएको हो ।

बीवाइडीको स्वामित्वमा रहेको फिन ड्रिम्सले आफ्नो उत्पादन र बिक्री २७.७ प्रतिशतले बढायो । कम्पनीले सन् २०२४ मा १५२.६ गिगावाट आवर ब्याट्री बनाएकोमा २०२५ मा बढेर १९४.८ गिगावाट आवर पुगेको हो ।

दक्षिण कोरियाली अनुसन्धान एजेन्सी ‘एसएनइ’ले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२५ मा विश्वभर १ हजार १८७ गिगावाट आवर ब्याट्री उत्पादन र बिक्री भयो । जुन सन् २०२४ को भन्दा ३१.७ प्रतिशतले बढी हो ।

तेस्रो स्थानमा रहेको कोरियन कम्पनी एलजी इनर्जी सोलुसनले २०२५ मा १०८.८ गिगावाट आवर ब्याट्री बनायो । कम्पनीले अघिल्लो वर्षको तुलनामा ११.३ प्रतिशतको वृद्धि हासिल गरेको हो ।

कसको बजार हिस्सा कति ?

बजार हिस्साको आधारमा सीएटीएल एक्लैले ३८.२ प्रतिशत ओगटेको छ । दोस्रो स्थानको बीवाइडीले १६.४ प्रतिशत बजार ओगट्न सफल भएको हो ।

तेस्रो स्थानको एलजी इनर्जी सोलुसनको भागमा ९.२ प्रतिशत बजार हिस्सा रहँदा चौथो स्थानकोमा चिनियाँ कम्पनी सीएएलबी रहेको छ । उसले ५.३ प्रतिशत बजार हिस्सा आफ्नो नाममा पार्न सफल भएको छ ।

अर्को चिनियाँ कम्पनी गोसन हाइ-टेकको भागमा ४.५ प्रतिशत बजार हिस्सा पर्दा कोरियन कम्पनी एसके अनको भागमा ३.७ प्रतिशत रहेको छ । यी दुई ब्राण्ड पाँचौं र छैटौं स्थानमा रहेका हुन् ।

चिनियाँ कम्पनी इभीइ इनर्जी, कोरियन कम्पनी सामसङ एसडीआई र चिनियाँ एसभोल्ट इनर्जी क्रमशः ३.७ प्रतिशत, २.६ प्रतिशत र २.४ प्रतिशत सहित ठूला कम्पनीको रूपमा स्थापित छन् ।


Back_to_top