सिंगल चार्जमा ३०० किमि चलाउन सकिने चांगनको माइक्रोबस नेपालमा (मूल्यसहित)

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले चांगनको इलेक्ट्रीक भ्यान नेपालमा विक्री सुरु गरेको छ । कम्पनीले प्यासेन्जर कारमा नेटा भी र दुई पाङ्ग्रेमा ओला ब्राण्डपछि लाइट कमर्शियल सेग्मेन्टमा माइक्रोबस ल्याएको हो ।

सिजी मोटर्सले पहिलो चरणमा चांगनको भी ५ मोडल नेपाल ल्याएको हो । केही समयपछि कम्पनीले भी ७ मोडल पनि ल्याउने जनाएको छ । कम्पनीले गाडीको विक्रीसँगै त्यसको लागि आवश्यक पर्ने चार्जिङ पूर्वाधारमा पनि लगानी सुरु गरेको जनाएको छ ।

छोटो दुरीमा चल्ने माइक्रोबसको रुपमा डाँफेले सफलता पाउन थालेसँगै अन्य ब्राण्डले पनि माइक्रोबस ल्याउन सुरु गरेका छन् । यही सेग्मेन्टमा बजार देखेको सिजी मोटर्सले चांगन भी ५ बाट माइक्रोबस विक्री सुरु गर्न लागेको हो ।

चांगन भी ५ मा ४१.८६ किलोवाट आवर क्षमताको सिएटीएलले उत्पादन गरेको ब्याट्री दिइएको छ । यसलाई फुलचार्जमा ३०० किलोमिटर चलाउन सकिने सिजीले जनाएको छ । ११ जना यात्रुले आरमदायी यात्रा गर्न सक्ने यो माइक्रोबसको संचालन लागत अत्यन्त न्यून पर्ने छ ।

चांगन भी ५ मा स्टायडर्ड चार्जरको रुपमा ३.३ किलोवाट क्षमताको नर्मल चार्जर रहेको छ । साथै, कम्पनीले ग्राहकलाई ६.६ किलोवाटको चार्जर पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ । यसले डिसी फास्ट चार्जपनि सपोर्ट गर्नेछ । यसमा सीसीएसटु चार्जिङ पोर्ट दिइएको छ । अधिकतम १०० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुड्न सक्ने यो माइक्रोबसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

सिजी मोटर्सले ४२ लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री सुरु गर्दैछ । साथै, एक वर्षको बीमा र एक वर्षको वार्षिक कर पनि कम्पनीले दिने जनाएको छ ।


Back_to_top