८ महिनामै आयो १०० अर्बको पेट्रोलियम पदार्थ, इलेक्ट्रिक गाडी चलाउन बन्दै चार्जिङ स्टेशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुलुकभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन स्थापनाबारे अध्ययन अगाडि बढाएको छ । 

प्राधिकरणको अहिलेकै वितरण केन्द्रहरुमा त्यस्ता स्टेसन निर्माण गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 

प्राधिकरणले देशभर आफ्नै स्वामित्वको जग्गामा स्टेसन निर्माण गर्न लागेको हो । 

मेसिनरी पार्टपूर्जाको आयात घटाउन तत्काल सम्भव नभए पनि विद्युतीय गाडीको प्रयोग बढाएर इन्धन आयात घटाउन सकिने सम्भावना भएकाले यसको काम अगाडि बढाइएको प्राधिकरणको दाबी रहेको छ ।

लोडसेडिङ हटाएर चौबिसै घण्टा बिजुली उपलब्ध गराउन सफल प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भविष्यमा उत्पादित विद्युत् खपतका नयाँ क्षेत्र पहिचानलाई प्राथमिकतामा राखेर यस्ता स्टेशन निर्माणमा अग्रसरता देखाएका हुन् । 

‘चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वर्षायाममा मागभन्दा बढी बिजुली उपलब्ध हुनेछ, विश्वमा इलेक्ट्रिक कार उत्पादनको घोषणा बढ्दो रहेको बेला हामीपनि तयारी रहन अध्यन अगाडि बढाएका हौ’ उनले भने । 

खेर जाने बिजुलीलाई विद्युतीय सवारी साधन चार्जिङमा लगाउन सके व्यापार घाटा घटाउन पनि योगदान पुग्ने उनको बुझाई छ । खासगरी, भारतबाट ठूलो मात्रामा पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्थाबाट मुलुकलाई बाहिर ल्याउने यो उत्तम बिकल्प रहेको घिसिङको दाबी छ । 

पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको संख्या बढ्दै जाँदा व्यापार घाटा पनि दिनप्रतिदिन फराकिलो बन्दै गएको छ । त्यसलाई रोक्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुको विकल्प नभएको उनले बताए ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ०७४/७५ को ८ महिनामा पेट्रोलियम पदार्थको आयात करिब ९९ अर्ब ३९ करोड १५ लाख रुपैयाँ बराबरको भइसकेको छ । 

साथै, मेसिनरी, पार्टपूर्जा, सवारी साधन, सुन र पोलिथिनको आयात उच्च छ । मेसिनरी पार्टपूर्जाको आयात घटाउन तत्काल सम्भव नभए पनि विद्युतीय गाडीको प्रयोग बढाएर इन्धन आयात घटाउन सकिने सम्भावना भएकाले यसको काम अगाडि बढाइएको प्राधिकरणको दाबी रहेको छ ।

विज्ञहरुका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरुले प्रतिकिलोमिटर ७ रुपैयाँ खर्च गर्छन् । विद्युतीय सवारी साधनमा भने प्रतिकिमि २ रुपैयाँ मात्र खर्च हुन्छ । त्यही लाभ देखेर प्राधिकरणले पनि विद्युतीय सवारी साधनको प्रर्बद्धनका लागि चार्जिङ स्टेसनहरु स्थापना गर्न लागेको हो ।


Back_to_top