चेरी क्यू र आर्कफक्स टी-१ को टक्करमा कुन अगाडि ?

काठमाडौं । कम मूल्यका उत्कृष्ट ईभी किन्ने योजना बनाएका उपभोक्ताले नयाँ छनोट पाएका छन् । अटो शोको सिजन चलिरहँदा बजारमा आर्कफक्स टी-१ र चेरी क्यू ३० देखि ३५ लाख रुपैयाँको सेग्मेन्टमा नयाँ विकल्प दिएका हुन् ।

चिनियाँ ब्राण्ड चेरीको क्यू र बीएआईसीको विद्युतीय ब्राण्ड आर्कफक्सको टी-१ अहिले समान ग्राहक समूहलाई लक्षित गर्दै बजारमा आएका छन् । दुवैको टप भेरियन्टको मूल्य बीच ३ लाखभन्दा पनि कमको अन्तर पाउन सकिन्छ ।

आसपासकै मूल्यमा आएको कारण यी दुई उत्पादन एकअर्काको सिधा प्रतिस्पर्धी बनेका हुन् । चेरी क्यूको टप भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नाइमा मोबिलिटी एक्स्पोमा बुकिङ लिइएको छ । एक्स्पोमा ढिलोगरी आएको आर्कफक्स टी-१ को टप भेरियन्ट ३५ लाख ९६ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

ठ्याक्कै भन्नुपर्दा यी दुई मोडलको टप भेरियन्टमा २ लाख ९७ हजार रुपैयाँ फरक छ । चेरी क्यूभन्दा आर्कफक्स टी-१ करिब ९ प्रतिशत महँगो पर्छ ।

मोटर पावर र टर्कमा तुलना

पावरमा चेरी क्यू अगाडि छ । यसमा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । जबकि आर्कफक्स टी-१ मा ७० किलोवाटको मोटर छ । टर्कको मामलामा टी-१ बलियो देखिन्छ । यसमा १७६ न्यूटन मिटर टर्क पाउन सकिन्छ । चेरी क्यूमा ९० किलोवाटको मोटर छ । यसको पीकटर्क भने ११५ एनएम मात्रै छ ।

ब्याट्री र रेन्जमा ठूलो फरक छैन

ब्याट्री क्षमतामा ठूलो अन्तर छैन । आर्कफक्स टी-१ मा ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्री छ । चेरीले क्यूमा ४१.३ किलोवाट आवरको एलएफपी ब्याट्री नै प्रयोग गरेको छ ।

ब्याट्री साइजमा ठूलो अन्तर नभएको कारण रेन्ज पनि लगभग उस्तै पाउन सकिन्छ । सीएलटीसीले दुवैको रेन्ज ४२० किलोमिटर माथि दाबी गरेको छ । तर, वास्तविक रेन्ज ३०० किलोमिटर माथिको अपेक्षा न्यायपूर्ण हुँदैन ।

रेन्जको हिसाबले दुवै मोडलले नेपालको शहरी क्षेत्र मात्र नभएर हाइवेमा पनि मज्जाले चलाउन सकिन्छ ।

साइजको फाइदा आर्कफक्स टी-१ लाई

यी दुई मोडल बीच सबैभन्दा ठूलो भिन्नता आकारमा देखिन्छ । टी-१ को लम्बाइ ४३३७ एमएम, चौडाइ १८६० एमएम र ह्वीलबेस २७७० एमएम छ ।

क्यूको लम्बाइ ४१९५ एमएम, चौडाइ १८११ एमएम र ह्वीलबेस २७०० एमएम छ । साइजमै दाँजेर हेर्दा टी-१ क्यूभन्दा करिब १४२ एमएम लामो, ४९ एमएम फराकिलो र ७० एमएम बढी लामो ह्वीलबेस भएको मोडल हो । यसको प्रत्यक्ष लाभ क्याबिनको स्पेस, पछाडिको सिट र रोड प्रेजेन्समा देखिन सक्छ ।

मूल्य अन्तरलाई कसरी लिने ?

क्यू र टी-१को मूल्यमा केबल २ लाख ९७ हजार रुपैयाँ अन्तर छ । तर, ३०-३५ लाख रुपैयाँ पर्ने कार किन्ने योजना बनाउनेको लागि ठूलो विषय होइन ।

अहिले कार किन्नेले अनिर्वाय ४० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी रकम ७ वर्षको लागि कर्जामा लिने भएको कारण मासिक किस्तामा केबल २ हजार ५०० रुपैयाँ हाराहारी फरक पर्न जान्छ । ब्याजदर महँगो हुँदै गएको खण्डमा अन्तर बढ्ने छ ।

कसका लागि कुन ठिक ?

दुवै गाडीलाई एउटै ग्राहक समूहले हेर्न सक्ने भए पनि रोजाइको आधार फरक हुन सक्छ । कम मूल्य, शहर केन्द्रित यात्रा र मोर्डन डिजाइन खोज्नेलाई चेरी क्यू सहि छनोट बन्न सक्छ ।

ठूलो आकार, फराकिलो क्याबिन र पारिवारिक प्रयोग प्राथमिकतामा राख्ने ग्राहकका लागि थप २ लाख ९७ हजार रुपैयाँ खर्च गरेर टी-१ रोज्नु अर्थपूर्ण हुन सक्छ ।

यसकारण यी दुई बीचको प्रतिस्पर्धा केवल ‘कुन सस्तो ?’ भन्नेमा निर्भर छैन ।


Back_to_top