चेरीले २०२६ भित्रै सोलिड स्टेट ब्याट्री भएको कार ल्याउने, रेन्ज १५०० किमी

काठमाडौंं । चिनियाँ अटोमोबाइल कम्पनीले आफ्नो एक्सिड ब्रान्डअन्तर्गत ‘लिफेङ’ नामक शुटिङ ब्रेक मोडेलमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले सोलिड स्टेट ब्याट्री प्रयोग हुने लिफेङ कार सन् २०२६ भित्रै बजारमा ल्याउने भएको हो । कम्पनीका अनुसार यो कारमा प्रयोग हुने सोलिड स्टेट ब्याट्रीले माइनस ३० डिग्री सेल्सियस तापक्रममा समेत १,५०० किलोमिटर रेन्ज दिनेछ ।

उक्त ब्याट्री चेरीको ‘राइनो एस’ सोलिड स्टेट ब्याट्री हुने अपेक्षा गरिएको छ । यसको इनर्जी डेनसिटी ६०० वाट आवर÷केजी सम्म पुग्नेछ।

हाल सोलिड स्टेट ब्याट्री विकासका लागि पोलिमर, अक्साइड र सल्फाइड गरी तीन प्रकारका वैकल्पिक इलेक्ट्रोलाइट प्रचलित छन्। चेरीले आफ्नो ब्याट्रीमा अक्साइड प्रविधि प्रयोग गर्छ ।

लिफेङमा ८०० भोल्ट आर्किटेक्चरमा निर्माण हुनेछ । जसमा ३० हजार आरपीएम दिने इलेक्ट्री मोटर जहान हुने अपेक्षा गरिएको छ। यसले शून्यदेखि १०० किमीको स्पीड ३ सेकेण्डभन्दा कम समयमै भेटाउने छ । यसको टप स्पीड प्रतिघण्टा २६० किमी हुनेछ।

चेरीले सन् २०२५ डिसेम्बरमा एक्सिड ईएस ८ शुटिङ ब्रेक मोडेल नै एक्सिड ब्राण्डको पहिलो सोलिड स्टेट ब्याट्री प्रयोग हुने खुलासा गरेको थियो । जसको रेन्ज १ हजार किमी हुने भनिएकाे थियो ।

चेरीले आफ्ना सवारीमा चरणबद्ध रुपमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने बताएको छ । सन् २०२६ मा पहिलो चरणमा राइड हेलिङ र भाडाका सवारीमा प्रयोग गर्नेछ । यसबाट वास्तविक तथ्यांक संकलन गर्न सकिने कम्पनीको भनाइ छ । सन् २०२७ देखि मास प्रोडक्सन गर्ने योजना छ ।


Back_to_top