अत्याधिक चिसोका कारण संयुक्तराज्य अमेरिकामा तापक्रम माइनस ३० डिग्रीमा झर्दा हवाई र रेल सेवा अबरुद्ध छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएअनुसार यहाँको तापक्रम अन्टार्टिका ध्रुवीय क्षेत्रको भन्दा न्यून रहेको छ ।
रेल सेवा सुचारु गराउन कर्मचारीले रेलको लिकमा आगो नै लगाएका छन् । चिसोले हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ । अमेरिकामा धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको बताईएको छ ।
चिसोको कारण मिसिगन तलाउको पानी जमेको छ भने अहोरात्र खस्ने नियागारा फल्सको पानी जमेर रोकिएको छ ।
सिकागोको ओहेयर बिमानस्थलमा पनि व्यवस्थापनको कार्य जटिल बनेको थियो । कर्मचारीले बाहिर १५ मिनेटभन्दा बढी समय काम गर्न सक्ने अवस्था थिएन । १८०० भन्दा बढी उडान रद्द गरिएका थिए । आम्ट्राक रेलसेवाले पनि आफ्नो सेवा बन्द गर्नु परेको छ ।
अमेरिकी हुलाक सेवाले इन्डियाना, मिसिगन, इलेनोइस, ओहायो, आयोवा, डकोटा र नेब्रास्कामा चिठीपत्र र अरु सामान ढुवानी स्थगित गरेको छ । अमेरिकी राष्ट्रिय जलवायू सेवाले बिहीबारसम्म यस क्षेत्रको तापक्रम माइनस २५ देखि ४५ डिग्री सेल्सियससम्म रहने जनाएको छ ।

