काठमाडौं । एक साता अघि (अप्रिल २५ देखि मे ४ सम्म) सम्पन्न बेइजिङ अटो शोले विश्वभरका अटोमोबाइलमा चाख र चासो राख्नेहरूको ध्यान खिचेको थियो । नखिचोस् पनि किन । न्यू इनर्जी भेहिकलमा चिनियाँ कम्पनीहरूले हासिल गरेको सफलता सन् १९९० ताका जापानी कम्पनीहरूले पाएको सफलताभन्दा कम्ती देखिँदैन ।
कुनै समय विश्वमा कार चढ्ने कल्चर विकास गरेको फोर्ड, विश्व अटोमोबाइलमा लामो समयदेखि एकछत्र राज गरिरहेको टोयोटा, आफूलाई हरेक कोणबाट बलियो देखाउन संघर्ष गर्दै आएको फक्सवागेन, प्रिमियम कारमा विशेष पहिचान बनाएको रोलस रोयससम्मले विद्युतीय कार बेइजिङ अटो शोमा प्रदर्शन गरेका थिए ।
यी ब्राण्डले प्रदर्शन गरेका ईभीको तुलनामा चिनियाँ अटोमोबाइल ब्राण्ड र नयाँ चिनियाँ स्टार्टअप कम्पनीका उत्पादन आकर्षक, फिचर लोडेड र फ्यूचरस्टिक थिए । यसले विश्वका प्रिमियमदेखि मासमार्केट ब्राण्डहरूलाई झस्काएको थियो ।
चिनियाँ ब्राण्डहरू साओमी, एनआईओ, एक्सपेङ, ग्रेटवाल, एमजी, बीवाइडी, चांगान, डोङफेङ, चेरी, जिकर, जिली, स्मार्ट, एवोन, डायून, जेटोर, स्काइवेल जस्ता ब्राण्डले देखाएका नयाँ प्रोडक्ट र मोडलले सबैको ध्यान खिच्न सफल भएको थियो ।
चिनियाँ ब्राण्डहरूले निकै कम मूल्यमा फिचरै फिचरले भरिपूर्ण कार ल्याएको भन्दै पश्चिमा देशका कार निर्माता र सरकारहरूको टाउको दुखाई भइरहेको समयमा आएका नयाँ कारहरूले धेरैको निन्द्रा हराएको छ । अमेरिकाले अघोषित घेराबन्दी गरे पनि युरोपका धेरै देशमा चिनियाँ उत्पादनले जरो गाडेका छन् । त्यसैले त उनीहरू आफ्ना उत्पादनलाई विशेष बनाउन लागिपरेका छन् ।
अमेरिकी पदचापमा चिनियाँ उत्पादक
न्यू इनर्जी भेहिकलमा चीनले पाएको सफलतासँगै कार निर्माताहरू ठूला र बल्की उत्पादन ल्याउन आतुर देखिन्छन् । उनीहरूले अटो शोमा देखाएको कारहरूले पनि यो कुरालाई पुष्टि गर्छ ।

ग्रेटवाल मोटर्स, चेरी, जिली, जेटोर, बीवाइडी र एमजीले देखाएका प्रोडक्टहरू लाइफ स्टाइलसँग जोडिएका थिए । ठूला र बल्की पीकअपदेखि लग्जरी सेडानसम्मको प्रदर्शनीबाट अटोमोबाइलमा चीनको तयारी प्रष्ट देखिन्थ्यो ।
मूल्यमा आश्चर्य !
चिनियाँ उत्पादन डिजाइन, फिचर र लग्जरीको मिश्रण भए पनि मूल्यको आधारमा निकै सस्ता मानिन्छन् । अहिले जापानीदेखि युरोपियन र अमेरिकी उत्पादकको टाउको दुखाई पनि यही हो ।
विद्युतीय कारको लागि महत्वपूर्ण मानिने लिथियम आयोन ब्याट्री उत्पादनमा चीनले पाएको सफलताले उसका उत्पादनलाई निकै सस्तो बनाएको छ । एक वर्षमा नै चिनियाँ उत्पादनको मूल्य २० देखि ३० प्रतिशतसम्मले कटौती भइरहेका छन् । यसको सिधा फाइदा चिनियाँ उत्पादकहरूले पाएका छन् ।


