काठमाडौं । चिनियाँ कार निर्माताहरुले सरकारी हस्तक्षेप खोजेका छन् । चिनियाँ बजारमा चलिरहेको ‘प्राइसवार’ले अटोमोबाइल उद्योगहरु नै धारसायी हुने अवस्था आएको भन्दै कार उत्पादकले सरकारको भूमिका खोजेका हुन् ।
पछिल्ला दिन चीनमा भइरहेको ईभी रेभुलुसनमा इनोभेसन र वातावरणीय चेतना मात्र नभई प्राइसवारले ठूलो रुप लिएको छ । यसलाई रोक्न स्थानीय ईभी उत्पादकहरुले केन्द्र सरकारलाई गुहारेका हुन् । तर, सरकारले भने ईभी कम्पनीहरुले ‘सेल्फ रेगुलेसन’मा बस्नु पर्ने बताएको छ ।
नयाँ ईभी र हाइब्रिड कारको मूल्य विगत २ वर्षदेखि निरन्तर घटिरहेको छ । पछिल्लो समय चीनको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले नै मूल्य घटाएपछि अन्य कम्पनीहरु थप मूल्य घटाउनु पर्ने बाध्यतामा परेका छन् । त्यहि कारण चीनमा थप प्राइसवार चलिरहेको छ ।
सीएनबीसीका अनुसार चीनको ‘मिनिष्ट्री अफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नलोजी’ले ईभी कम्पनीहरुमा रेगुलेसन बढाउने तयारी थालेको छ । नयाँ रेगुलेसनले नन् प्रड्क्टीभ कम्पीटिसनलाई हटाएर फेयर कम्पीटिसनलाई बढावा दिने तयारी गरेको बताइन्छ ।
यसै विषयमा एक्सपेङका चीफ एक्जुकेटीभ हे साओपिङका अनुसार प्राइसवार तुरुन्तै रोकिने सम्भावना एकदमै कम छ । उनका अनुमानमा यो प्रतिस्पर्धा अझै ५ वर्षसम्म चल्नेछ । अहिले भइरहेको ओभर सप्लाइका कारण प्रतिस्पर्धा गर्नुको विकल्प नरहेको साओपिङ बताउँछन् ।
विगत २ वर्षमा चिनियाँ कारको खुद्रा बिक्री मूल्य १९ प्रतिशतले घटेको छ । अहिले चिनियाँ कारहरुको औषत मूल्य २२ हजार अमेरिकी डलर हाराहारीमा छ ।


