धमाधमा ईभीको मूल्य बढाउँदै चिनियाँ कम्पनी, नेपालमा कस्तो पर्छ असर ?

काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनीहरूले धमाधम मूल्य बढाउन थालेका छन् ।

आपूर्ति शृङ्खलामा देखिएको समस्या, भण्डारण चिपको अभाव र लिथियम कार्बोनेट जस्ता कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धिका कारण अटो उत्पादकहरूले मूल्य बढाउन थालेका हुन् ।

विश्वकै ठूलो एनईभी उत्पादक बीवाइडीसहित चीनका १५ भन्दा बढी अटो कम्पनीहरूले मूल्य बढाएका छन् । उनीहरूले सिधै गाडीको मूल्य नभई गाडीमा प्रयोग गरिएको प्रविधि वा फिचरको मूल्य बढाएका छन् । जसले समग्रमा गाडीको मूल्य बढाएको छ ।

बीवाइडी, शाओमी, चांगान लगायत मुख्य ब्राण्डले मूल्य बढाइसकेका छन् । अन्य केही कम्पनीहरूले पनि बढाउने तयारी गरिरहेको चिनियाँ संचारमाध्यम जिमियान न्युजले जनाएको छ ।

बीवाइडीले मे १ देखि लागू हुने गरी आफ्नो डाइनस्टी, ओशन र फाङचेनबाओ सिरिजका लागि उपलब्ध ‘गड्स आई बी’ एडास लेजर एडिसन विकल्पको मूल्य ३०० डलर बढाएको छ ।

त्यस्तै, चाङ्गन नेभोले अप्रिल ३० मा मे ७ पछि उत्पादन हुने क्यू०७ एसडीए इन्टेलिजेन्ट लेजर एडिसन मूल्य ४०० डलर बढाएको छ । जीएसी आयोनले आयोन वाई यङ्गर र आयोन एस प्लस जस्ता मोडलहरूको मूल्य ४०० देखि ९०० डलरसम्म बढायो ।

शाओमीले मार्चमा लन्च गरेको एसयू ७ को स्ट्यान्डर्ड, प्रो र म्याक्स भेरियन्टको मूल्य ६०० अमेरिकी डलरसम्म बढाएको छ । ज्वाइन्ट भेन्चरका फक्सवागन, टोयोटा लगायतले मूल्य पनि बढाएका छन् । अमेरिकी कम्पनी टेस्लाले सिधै मूल्य नबढाए पनि फाइनानस योजनामा कडाइ गरेको छ । टेस्लाले पहिले उपलब्ध रहेको ७ वर्षे कम ब्याजदरको योजना खारेज गरी नयाँ ५ वर्षे कर्जा योजना ल्याएको छ । जीकर र अवतार जस्ता अन्य चिनियाँ ब्रान्डहरूले पनि शून्य प्रतिशत ब्याजदरको फाइनान्सिङ अफरहरू बन्द गरेका छन्।

मूल्य वृद्धिका कारण

चिनियाँ अटो उत्पादकहरूले विभिन्न ३ प्रमुख कारण देखाउँदै गाडीको मूल्य बढाएका छन् । आपूर्ति श्रृंखलामा आएको अवरोध, चिपको अभाव र आल्मुनियम, तामा जस्ता कच्चा पद्धार्थको मूल्य वृद्धि कारण रहेका छन् ।

ब्याट्री निर्माणमा प्रयोग हुने लिथियम कार्बोनेटको मूल्य १ वर्षमै प्रतिटन ११ हजार डलरबाट बढेर झण्डै २९ हजार डलर पुगेको छ । त्यस्तै, आल्मुनियम र तामाको मूल्य पनि अस्वभाविक बढेर प्रतिटन क्रमशः ३,७०० डलर र १४,७०० डलर पुगेको छ । जसले उत्पादन लागत बढाएको छ ।

साथै, जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको तीव्र वृद्धिका कारण चिप उत्पादन एआई सर्भरतर्फ मोडिएको छ । जसले अटोमोटिभ क्षेत्रमा भण्डारण चिप्सको आपूर्तिमा संकुचन ल्याएको छ। यी चिप्सहरूको मूल्य पछिल्लो तीन महिनामा लगभग १८० प्रतिशतले बढेको छ, ।

चिपको मूल्य वृद्धिले मात्र एउटा आधुनिक गाडीको लागतमा ४०० देखि १ हजार डलरसम्म बढाएको छ । यसबाहेक एउटा मध्यम आकारको विद्युतीय गाडीको कच्चा पदार्थको लागत झन्डै ३०० अमेरिकी डलरले बढेको छ।

लागत बढेसँगै अटो कम्पनीको हरूमा नाफामा पनि गिरावट आएको छ । चीन प्यासेन्जर कार एसोसिएसनको तथ्याङ्क अनुसार लामो समयदेखि चलेको प्राइस वार र अहिलेको कच्चा पदार्थको मूल्य वृद्धिका कारण समग्र अटो उद्योगकै नाफा सन् २०२६ को पहिलो त्रैमासिकमा घटेर ३.२ प्रतिशतमा झरेको छ।

सन् २०२६ को पहिलो त्रैमासिकमा समग्र उद्योगको कुल नाफा गत वर्षको तुलनामा १८ प्रतिशतले घटेर ११.५ अर्ब डलरमा सीमित भएको छ ।

नेपाली बजारमा कस्तो प्रभाव पर्ला ?

नेपाली बजारमा बिक्री हुने कुल ईभीमध्ये दुईतिहाई बढी हिस्सा चिनियाँ ईभीकै छ । चीनमै उत्पादन लागत बढेपछि र कम्पनीहरूले सहुलियतहरू कटौती गर्न थालेपछि यसको प्रत्यक्ष असर आगामी दिनमा नेपाल आयात हुने नयाँ गाडीमा पर्न सक्ने सहजै अनुमान गर्न सकिन्छ।


Back_to_top