भारतका तेल कम्पनीले बढाए मूल्य, नेपालमा पनि असर पर्ने

काठमाडौं । भारतीय सरकारी तेल कम्पनीहरूले पेट्रोलिम पद्धार्थको मूल्य बढाएका छन् । शुक्रबारदेखि लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३/३ भारतीय रुपैयाँ बढाएका हुन् । त्यस्तै, सीएनजी ग्यासको मूल्य २ भारु बढाएका छन् ।

इन्डियन आयल कर्पोरेसनका अनुसार राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९४.७७ भारुबाट बढेर ९७.७७ भारु पुगेको छ । त्यसैगरी डिजेलको मूल्य ८७.६७ भारुबाट बढेर ९०.६७ भारु पुगेको छ । ढुवानी लागत र स्थानीय करका आधारमा भारतका अन्य क्षेत्रमा मूल्य फरक फरक रहेकाे छ ।

इरान युद्ध र हर्मुज जलमार्गमा जारी अवरोधका कारण आपूर्तिमा श्रृंखला प्रभावित भइरहेको छ । जसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नुका साथै ढुवाली लागत समेत वृद्धि भएकाले तेल कम्पनीहरुले मूल्य बढाएका हुन् ।

जारी इरान युद्धपछि भारतले पहिलोपटक इन्धनको मूल्य बढाएको हो । यसअघि करमा सहुलियत दिँदै घटाएको थियो । सरकारी तेल कम्पनीहरूले विश्व बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागेकाले इन्धन बिक्रीमा घाटा व्यहोर्नुपरेको बताएका छन् ।

इन्धन मूल्यवृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम कडा बनाएको छ । सरकारी तथा निजी क्षेत्रलाई इन्धनको अनावश्यक प्रयोग कम गर्न आग्रह गरिएको छ ।

सरकारी कर्मचारीहरुलाई सम्भव भएसम्म घरबाटै काम गर्न भनिएको छ । साथै निजी सवारी साधनको प्रयोग घटाउन सर्वसाधारणलाई सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरिएको छ ।

भारतमा इन्धनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । किनभने नेपाल पेट्रोलियम पद्धार्थमा पूर्णरुपमा भारतमा निर्भर छ । भारतमा बढेसँगै नेपालमा पनि मूल्य बढेर आउने छ ।


Back_to_top