अमेरिका र चीनबीचको ब्यापारिक सम्बन्धमा तनाव अझै बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथी थप एकसय अर्ब डलरको ट्यारिफ लगाउने धम्की दिएपछि ट्रेड वार सहतमै देखिएको हो ।
बिहीबार बिज्ञप्ती जारी गर्दै ट्रम्पले यदि चीनले ब्यापार गर्ने आफ्नो शैलीमा परिवर्तन नल्याएमा चीनमाथि थप एकसय अर्ब डलरको ट्यारिफ लगाउने भनेका छन् । अमेरिकाले थप १३ सय चिनियाँ उत्पादनहरुमाथि थप ट्यारिफ लगाउने तयारी गरेको हो ।
दुबै देशहरुले एक अर्काका बिरुद्ध आयात शूल्क लगाउँदै जान थालेपछि विश्वका दुई ठूला अर्थब्यबस्थाहरु खुलेरै ट्रेड वारमा जान लागेको भन्दै विश्व अर्थतन्त्रमा चिन्ताको बादल मडारिएको छ।
गत हप्तामात्रै अमेरिकाले चीनमाथि ६० अर्ब डलरको ट्यारिफ लगाउने घोषणा गरेको थियो । त्यस निर्णयबिरुद्ध चीनले पनि ५० अर्ब डलर मूल्य बराबरको एकसय ६ अमेरिकी उत्पादनको आयातमाथि २५ प्रतिशत शुल्क लगाउने निर्णय गर्यो ।
फेरि अमेरिकाले चीनमाथि थप १ सय अर्ब डलरको ट्यारिफ लगाउने धम्कीको आलोचना समेत हुन थालेको छ। अमेरिका र चीनबीच चलिरहेको ‘टिट फर ट्याट’ ब्यबहारले विश्व बजारलाई अस्थिर बनाउने विश्लेषण हुन थालेका छन् ।
विश्लेषकहरुका अनुसार अमेरिका र चीनबीच उत्पन्न परिस्थिती विश्व अर्थतन्त्रकालागि राम्रो संकेत होइन । दुई देशबीच यसबारेमा समझदारी हुन अत्यावश्यक देखिइसकेको छ।
अमेरिकाले आफ्ना उत्पादनहरुमाथि ट्यारिफ लगाएको विषयमा चीनले डब्लुटिओमा उजुरी गरिसकेको छ। डब्लुटिओले यस विषयमा सेटलमेन्टकालागि सदस्यहरुसँग परामर्शकालागि आह्वान समेत गरेको बताइएको छ । बिबिसि