मारुती सुजुकी सियाजको फेसलिफ्ट तयार भएको छ । कम्पनीले सियाज फेसलिफ्टमा केही कस्मेटीक चेन्जको साथै १.५ लिटर पेट्रोल इन्जिनमा समेत ल्याउने भएको छ ।
कम्पनीले यो कार अगस्ट महिनामा सार्वजनिक गर्ने बताईसकेको छ । भारतीय सडकमा परिक्षणको क्रममा देखिएको यो कारमा कम्पनीले बाहिरी आवरणमा निकै परिर्वतन गरेको देखिएको मिडिया रिपोर्टमा जनाइएको छ ।
अहिले भारतीय बजारमा कम्पनीले सियाजको पुरानो मोडलमा निकै छुटको अफर ल्याएर बिक्री गरिरहेको छ । जसमा पेट्रोल भेरिएन्टमा ४० हजार र डिजेल भेरिएन्टमा १ लाख २० हजार भारतीय रुपैयाँसम्म छुट दिइरहेको कम्पनीले जनाएको छ ।
नयाँ सियाज फेसलिफ्टमा पुरानो भन्दा ठुलो ग्रिल लगाइएको छ भने, निकै आर्कषक हेड ल्याम्प दिइएको छ । साथै अगाडिको बम्परलाई समेत निकै आर्कषक बनाइएको छ । यसमा कम्पनीले नयाँ डिजाइनको एलोय ह्वील, टुकेड टेल ल्याम्प ग्राफिक्स जस्ता परिर्वतन गरेको छ ।
यसको इन्टेरिएरमा भने खासै परिर्वतन गरिएको छैन । तर, यसमा गरिएको सबैभन्दा ठुलो परिर्वतन भनेको नयाँ इन्जिन हो ।
१.५ लिटर के १५ बी पेट्रोल इन्जिन यसमा दिइएको छ । यो कम्पनीले प्रयोगमा ल्याएको नितान्त नयाँ इन्जिन हो । चार सिलिन्डर युक्त यो इन्जिनले १०४ एचपी पावर र १३८ एनएम टर्क उत्पादन गर्छ ।
५ स्पिड म्यानुयल गियर बक्समा आउने यो कारलाई कम्पनी १.३ लिटर सेग्मेन्टमा डिजेल र पेट्रोल दुबै भेरिएन्टमा अटोमेटिक गिएरमा ल्याउने छ । यसको डिजेल इन्जिनले ८९ पीएच पावर र २०० एनएम टर्क उत्पादन गर्छ ।
नेपाली बजारमा मारुती सुजुकीको आधिकारीक बिक्रेताको रुपमा सिजी मोटोकर्पले बिक्री वितरण गर्दै आएको छ ।

