काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी सिट्रोनले भारतमा निर्माण गरेको पहिलो कार सिट्रोन सी ३ को भारतको सडकहरूमा रोडटेस्ट भइरहेको छ । कम्पनीले आगामी महिना लन्चको लागि तयारी गरेको सी ३ क्रसओभर ह्याचब्याक जस्तो देखिएको छ । ‘सब फोर मिटर’ लम्बाइ रहेको सी ३ फ्रान्समा भन्ने गत सेप्टेम्बरमा लन्च भएको थियो ।
भारतमा बढ्दो सब कम्प्याक्ट तथा माइक्रो एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आउँदै गरेको सी ३ आकर्षक देखिएको छ । कम्पनीले यो कार सीएमपी मोडुलर प्ल्याटफर्ममा तयार गरेको हो । कारको अगाडि भागमा स्पिट हेडल्याम्प, एलईडी डीआरएल तथा रियरमा र्यापअराउण्ड एलईडी ब्याक लाइट रहेको छ ।
कारको ओराभीएम र फ्रन्ट ग्रिलमा क्रोम फिनिस देखिएको छ भने तल्लो भागमा हेग्जागन साइजको ग्रिल र अझ तलपट्टी डिउल टोन बम्पर र आल्मुनियम जस्तो देखिने स्किडप्लेट रहेको छ । यसमा डिउलटोन डाइमण्ड कट अलोयह्वील रहेको छ र कारको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । यो कारमा लगेजका लागि ३१५ लीटरको बुट स्पेश दिएको छ ।

२ हजार ५४० एमएम ह्वील बेस रहेको यस कारमा पछाडि बस्ने पेसेन्जरका लागि समेत यथेस्ट लेगरुम रहेको छ । कारको क्याबिनमा १० इन्च साइजको इम्फोटेन्मेट सिस्टम रहेको छ । जसमा एन्डरोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटीको सुविधा रहेको छ । यो कारमा वायरलेस स्मार्ट फोन चार्जर समेत रहेको छ ।
पर्सनल डिभाइसहरू चार्ज गर्नका लागि कारमा ३ वटा फास्ट चार्जिङ यूएसबी पोर्ट तथा एक वटा १२ भोल्टको सकेट रहेको छ । तस्वीरमा देखिए अनुसार कारमा थ्री स्पोक स्टेरिङ ह्वील, डिजिटल इन्टुमेन्ट क्लस्टर तथा म्यानुअल एयरकन्डीसन रहेको छ ।
मिडिया रिपोर्टहरूका अनुसार सिट्रोन सी३ मा १.२ लिटरको न्याचुरल्ली यस्पीरेटेड तथा टर्बो चाज्ड पेट्रोल इन्जिन रहेने छ जसले क्रमशः ८१ ब्रेक हर्सपावर तथा १०० ब्रेकहर्सपावरको शक्ति उत्सर्जन गर्दछ । यो कारमा कम्पनीले पाँच स्पीडको म्यानुअल तथा अटोमेटिक ट्रास्मिसन सिस्टम दिएकाे छ ।

नेपाली बजारमा सिट्रोनको सी५ एअरक्रसको विक्री भइरहेको छ । नेपालका लागि सिटोनको आधिकारीक वितरक साँग्रिला मोटर्सले भारतमा लन्च भएको केही समयमानै नेपालमा सी३ को विक्री सुरू हुने मेरो अटोसँग बताए । कम्पनीले सी३ भित्राउन आवश्यक तयारी समेत सुरू गरिसकेको जानकारी प्राप्त भएको छ ।

