यात्री पी १ को विक्री सुरू, शोरुम उद्घाटन हुँदै

काठमाडौं । नेपालमै बनेको पहिलो मोटरसाइकलको विक्री सुरू भएको छ । नेपाली युवाहरुको टीमले निर्माण गरेको यात्री इलेक्ट्रीक मोटरसाइकलको अनलाइन विक्री सुरू भएको हो ।

कम्पनीले आफ्नो आधिकारिक वेबसाइट मार्फत यात्री पी १ को विक्री सुरू गरेको हो भने जनवरी १७ मा आफ्नो पहिलो शोरुम उद्घाटन गर्ने जनाएको छ । हाल अनलाइनमार्फत मोटरासइकल विक्री भइरहेको कम्पनीका सीईओ वत्सल पाण्डेले मेरोअटोसँग बताए ।

यात्री पी १ लाई ग्राहकले आफ्नो चाहाना अनुरूपका फिचर तथा कलरको प्रयोग गरेर किन्न सक्ने सुविधा रहेको छ । यात्री पी १ बेस भेरियन्टको मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेको छ भने ग्राहकले आफ्नो चाहना अनुरुप फिचर थप गर्दा फिचर अनुसारको मूल्य वृद्धि हुनेछ ।

यसमा ग्राहकले बुस्ट प्याक थप गरेर लिँदा यसको मूल्य थप ११ हजार ८०० रुपैयाँ तिर्नु पर्ने हुन्छ । बुस्ट प्याकको प्रयोगले मोटरसाइकलको ०–६० को स्पीड बेस भेरियन्टको तुलनामा राम्रो हुन्छ । यसको स्र्पोकेट ८० टी रहेको छ । बेस भेरियन्टमा ७२ टी स्र्पोकेट रहेको छ ।

त्यस्तै ‘स्टपी प्याक’ नामक फिचर थप गरेर लिँदा ग्राहकले १२ हजार रुपैयाँ थप तिनुपर्ने हुन्छ । यसमा ग्राहकले ३२० एमएमको क्यालिपर डिस्क ब्रेक पाउने छन् । बेस भेरियन्टमा भने २४० एमएमको डिस्क ब्रेक रहेको छ । स्टपी प्याकको ब्रेकिङ क्षमता उच्च रहेको छ ।

त्यसैगरी अर्को फिचरमा ‘डिजिटल स्र्टाटअप प्याक’ रहेको छ । यसको बेस भेरियन्टमा ग्राहकले रेगुलर क्लासिक ‘की’ पाउने छन् । यसको डिजिटल प्याकमा भने ग्राहकले की–लेस स्र्टाट फिचर उपलब्ध हुनेछ । यसका लागि ग्राहकले थप १८ हजार ७०० रुपैयाँ तिनु पर्ने हुन्छ ।

ग्राहकले माथि उपलब्ध सबै फिचरसहितको यात्री पी १ खरिद गर्दा ५ लाख ३७ हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यसका साथै ग्राहकले माथिका कुनै एक वा दुई फिचर थप गरेर पनि मोटरसाइकल खरिद गर्न सक्नेछन् ।

यात्री पी १ मा १० कलर अप्सनमा आउने छ । ग्राहकले बडी प्यान, सिट र सस्पेन्सनमा आफ्नो इच्छा अनुसारको कलर छनोट गर्ने सुविधा पाउने छन् ।


Back_to_top