महानगरको नयाँ मिति, फागुनबाट काठमाडौंमा धुलो उड्दैन

काठमाडौं । फागुन महिनादेखि काठमाडौं महानगरपालिकावासीले मास्क लगाउनु नपर्ने महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोलले बताएका छन् । उनले काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा ब्रुमरद्धारा सरसफाइको कार्यक्रम सुरु गरिने बताएका हुन् । 

उनले ३२ वटा वडामै दैनिक ब्रुमरद्धारा सरसफाइ गरिने र त्यहाँका सर्वसाधनले त्यसपछि मास्कसमेत लगाउनुनपर्ने बताएका हुन् ।

‘पहिलो प्राथमिक्तामा एरपोर्ट, बानेश्वर, माइतीघर, चक्रपथ, महाराजगञ्ज, रानीपोखरीलगायतका क्षेत्रलाई राखिने डङ्गोलले जानकारी दिए । 

‘फागुनमा हामी नयाँ ब्रुमर ल्याउँदै छाैँ, काठमाडौं महानगरपालिकामा बसोबास गर्ने जो कोहीले अब मास्क लगाउनु पर्दैन्,’ डङ्गोलले मेरोअटोसँग भने ।

विशेष गरी मुख्य सडक तथा भित्री सडकहरुमा सरसफाइ गर्न ब्रुमरको प्रयोग गरिने उनले जानकारी दिए । ‘पहिलो प्राथमिक्तामा एरपोर्ट, बानेश्वर, माइतीघर, चक्रपथ, महाराजगञ्ज, रानीपोखरीलगायतका क्षेत्रलाई राखिने डङ्गोलले जानकारी दिए । 

‘सडक सरसफाइका लागि रुट मिलाउनु पर्छ, त्यसका लागि थप छलफल गर्न बाँकी छ, जसरी पनि फागुनपछि काठमाडौं महानगरलाई धुलो मुक्त बनाउने छौ’ डङ्गोलले भने । 

कति पर्छ ब्रुमरको मूल्य ?

हाल महानगरपालिकाले ५ वटा बु्रमर आयात गर्न लागेको छ । ५ वटा ब्रुमरको मूल्य ८ करोड ६६ लाख १२ हजार ४ सय ६० रुपैयाँ पर्ने महानगरले जानकारी दिएको छ । 

५ वटा ब्रुमर मध्ये ४ वटा १६ टन क्षमता बराबरका रहेको छ भने अर्को एउटा ६ टन क्षमताको रहेको छ । ४ वटा ब्रुमरको प्रतिब्रुमर १ करोड ७९ लाख ५३ हजार १ सय १५ रुपैयाँमा खरिद गरिदै छ भने अर्को सानो ब्रुमरको मूल्य १ करोड ४८ लाख रुपैयाँ रहेको महानगरपालिकाले जानकारी दिएको हो । 

कहाँबाट आयात हुँदै छ ब्रुमर ?

उक्त ब्रुमर आयातका लागि नेपाली कम्पनी वेब्सले ठेक्का पाएको छ । ब्रुमर यूरोपबाट ल्याउन लागिएको हो । यस्तै नेपाल सरकारले थप २ वटा ब्रुमर चीनबाट पनि पाउने भएको छ । 

‘फागुनमा ब्रुमर आउँदै छ, ५ वटा यूरोपबाट आयात हुन लागेको हो, भने २ वटा ब्रुमर चीनले दिन लागेको छ,’ महानगरका प्रवक्ता डङ्गोलले भने । 

दिनमा २ सय किलोमिटर सडक सफा गरिने

ब्रुमर मेसिनले १ घण्टामा ५ किलोमिटर सडकको धुलो उठाउने छ । यसरी हेर्दा महानगरसँग हुने ७ वटा ब्रुमरले सडकको धुलो सफा गर्ने छन् । दैनिक २ सय किलोमिटर सडक सफा गर्ने उद्देश्य महानगरपालिकाले बनाएको छ । उक्त संख्यामा ब्रुमर आएपछि काठमाडौं धुलो मुक्त हुने महानगरका प्रवक्ता डङ्गोलले दाबी गरे । 


Back_to_top