काठमाडौं । नेपालमा विद्युतीय कमर्शियल ब्राण्डको संख्या करिब ३ दर्जन पुगेको छ । पछिल्लो समय सार्वजनिक यातायातमा ईभीको प्रयोग बढेसँगै बजारमा नयाँ ब्राण्ड थपिने क्रम पनि बढेको हो ।
कमर्शियलमा आइसीई ब्राण्ड १ दर्जन हाराहारी मात्रै रहे पनि ईभी ब्राण्डको संख्या ३ दर्जन रहेका छन् । ईभीमा कार जस्तै कमर्शियलमा पनि चिनियाँ ब्राण्डकै वर्चश्व रहेको छ ।
हाल छोटो तथा मध्यम दूरीका रुटमा विद्युतीय माइक्रोबस र डेलिभरी भ्यानको प्रयोग बढ्दो छ । आइसीई गाडीको तुलनामा विद्युती सवारीमा कर कम लाग्ने, संचालन खर्च कम हुने र नाफा बढ्ने भएकाले सवारी किन्नेहरू ईभीमा आकर्षित हुन थालेका हुन् ।
साथै, पछिल्लो समय फैलिँदो चार्जिङ नेटवर्कका कारण पनि ईभीको प्रयोग सहज हुँदै गएको छ । यद्यपि, देशभर पर्याप्त चार्जिङ स्टेसन नहुँदा अझै भरपर्दो भने छैन ।
चालु आव (जेठ मसान्तसम्म) मात्रै साढे ३ हजार युनिट विद्युतीय कमर्शियल सवारी आयात भएका छन् । हाल नेपालमा विद्युतीय कमर्शियलमा बस, माइक्रोबस, डेलिभरी भ्यान जस्ता सवारी साधन आयात हुँदै आएको छ ।
चिनियाँ अटो उत्पादकले नेपाली आयातकर्ताले भनेकै नाममा समेत गाडी बनाइदिने भएकाले पनि ब्राण्डको संख्या धेरै भएको व्यवसायीहरू नै बताउँछन् ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को कमर्शियल भेहिकल समितिका सभापति निसान ढकाल सरकारले दिएको कर सुहलियतकै कारण ईभी कमर्शियल ईभी आयात बढेको बताउँछन् । ईभीको व्यापार बढेसँगै नयाँ नयाँ ब्राण्ड थपिएको उनले बताए ।
‘पसर्नल भेहिकल जस्तै कमर्शियलमा पनि ईभीको प्रयोग बढ्दो छ । सरकारले दिएको कर छुटका कारण ईभीको मूल्य सस्तो भएको छ । त्यसैले यातायात व्यवसायीहरू ईभीप्रति आकर्षित भएका हुन्,’ उनले मेरोअटोसँग भने । साथै, संचलन र मर्मत खर्च कम हुने र देशभर चार्जिङ नेटवर्क विस्तार भएकाले पनि ईभीको प्रयोग बढेको उनले बताए ।
पछिल्लो समय छोटो तथा मध्यम दूरीका गन्तव्यहरूमा सार्वजनिक सवारीमा ईभीको प्रयोग बढ्दो छ । तुलनात्मक रूपमा बसको संख्या न्यून रहे पनि माइक्रोबस भने उल्लेख्य बढेको छ । हाल अधिकांश यातायात समितिले नयाँ सवारी किन्दा विद्युतीय माइक्रोबस नै किन्न थालेका छन् । हाल देशभर ५ हजार बढी विद्युतीय माइक्रोबस गुडिरहेका छन् । हाल नेपालमा २० लाखदेखि १ करोड बढीसम्मका कमर्शियल ईभी पाइन्छ ।
कुन घरानासँग कति ब्राण्ड ?
कमर्शियल ईभीको व्यापार बढेसँगै एउटै घरानाले एक वा सोभन्दा बढी ब्राण्ड ल्याएर बिक्री गर्न थालेका छन् । पर्सनल भेहिकल सेग्मेन्टमा एउटै व्यापारिक घरनासँग आधा दर्जन बढी ब्राण्ड छ । त्यस्तै, कमर्शियल सेग्मेन्टमा पनि एउटै घरानासँग २ वटासम्म ब्राण्ड रहेका छन् ।
हाल आधादर्जन बढी व्यापारिक घरानासँग एक बढी ब्राण्डका कमर्शियल ईभी छन् । ९ घरानाले मात्रै १६ ब्राण्डका कमर्शियल ईभी बेचिरहेका छन् । सीजी ग्रुप, जगदम्बा मोटर्स, त्रिवेणाी ग्रुप, विशाल ग्रुप, एमडब्लू वृद्धि, , आइएमई ग्रुप, आर्कस ग्रुप, मेगा मोटर र सशिला मोटर्सले २/२ ब्राण्डका कमर्शियल ईभी बेच्दै आएका छन् ।
चौधरी समूहको सीजी मोटर्सले केवाइसी र किङलङ ब्राण्डको माइक्रोबस बिक्री गरिरहेको छ । त्यस्तै, विशाल ग्रुपको पूजा कमर्शियलले जोयलङ र साइनरी (एसआरएम), त्रिवेणी ग्रुपको त्रिवेणी मोटर्सले डीएफएसी र कामा, मेगा बिजनेस ग्रुपको मेगा मोटर्सले हाउजी र कामा ब्राण्डको कमर्शियल ईभी बिक्री गरिरहेको छ ।
त्यसैगरी, सशिला मोटर्सले हाइगर र कीटोन, जगदम्बा ग्रुपको जगदम्बा मोटर्सले जिली फारिजोन र चेरी एण्ड वाण्डा, आर्कस ग्रुपले गोल्डेन ड्रागन र सुमेक, एमएडब्लू ग्रुपको एमएडब्लू वृद्धि कमर्शियलले चोङ्गक्विन र फोटोन, आइएमई ग्रुपले डीएफएसके र स्वीच मोबिलिटी ब्राण्डका कमर्शियल ईभी बिक्री गरिरहेका छन् ।
अन्य १६ कम्पनीले भने एउटा मात्रै ब्राण्डाको ईभी बिक्री गर्दै आएका छन् । इको अटोले गोनाउ, सिप्रदी ट्रेडिङले टाटा, नेक्सन भेन्चरले सनलङ ब्राण्डको कमर्शियल ईभी बिक्री गर्दै आएका छन् । त्यस्तै, नेपाली बजारमा फ्युचर मोटर्स, जिङ्ग्सु टुनिउ, भिक्टोरी, वुलिङ, जिङ्ग्सु हाउजी अटो, जिङ्ग्सु, नान्निङ, आरजेडएम, जोहोङटोङ, कावेई लगायत ब्राण्डका कमर्शियल ईभी बेचिरहेका छन् ।

