स्कुटरको राजा डिओ : धेरै गुण, केही कमजोरी

काठमाडौं । सन् २००२ मा भारतमा पहिलो पटक सार्वजनिक भएको होन्डा डिओ नेपालमा ३ लाख युनिट हाराहरी बिक्री भएको छ । यति धेरै संख्यामा बिक्री भएको डिओ स्कुटरको आसपास कुनै पनि स्कुटर पुग्न सक्ने भएन ।

यसको सफलतामा लेख्न सकिने धेरै कुरा छन् । तर, झण्डै दुई दशकमा उपभोक्ताले यसमा देखेको कमजोरी के के हो भन्ने विषयमा खासै चर्चा पाएको पाइँदैन ।

कुनै पनि उत्पादन सबै कुरामा ठिक र फिट हुन्छ भन्ने हुँदैन । त्यसले डिओ स्कुटरमा रहेको कमजोर र बलियो पक्षको विषयमा हामीले यहाँ चर्चा गर्न खोजेका हौं ।

पक्कै पनि यसको बिक्री तथ्यांकले नै यसमा कमजोरीभन्दा बलियो पक्ष धेरै छन् भन्ने कुरा देखाएको छ । त्यसैले सामान्य लाग्ने केही कमजोरीका विषयमा हामी यहाँ चर्चा गर्दैछौं ।

बलियो पक्ष

रिसेल भ्यालू : होन्डा डिओ नेपालमा सर्वाधिक रिसेल मूल्य आउने मध्येको एक मोडल हो । यसको खरिद धेरैले लगानीका रूपमा पनि व्याख्या गर्ने गरेको पाइन्छ ।

डिजाइन र पर्फमेन्स : युवाहरूको पहिलो रोजाइ बन्दै आएको डिओ स्कुटर ११० र १२५ सीसी क्षमताको दुई इन्जिन अप्सनमा पाउन सकिन्छ । यसको माइलेज पनि प्रति लिटर ५० किलोमिटर आसपास पाइन्छ ।

मोर्डन र स्टाइलिश डिजाइनले युवा पुस्तालाई तानिरहेको देखिन्छ । साथै, यसको बडी ग्राफिक्स र कलर अप्सनले धेरै छनोट प्रदान गरेको छ । त्यसैले यसको बिक्री धेरै हुन्छ ।

हलुका र सहज ह्याण्डलिङ : होन्डा डिओको सबैभन्दा बलियो पक्ष मध्येको एक सहज ह्याण्डलिङ पनि हो । आरामदायी सिट, प्रयाप्त लेग स्पेस, लगभग ११० केजी आसपासको तौलले यसलाई सहरी बाटाको लागि उत्कृष्ट स्कुटर बनाएको छ ।

स्याकार ट्रेडिङको नेटवर्क र सर्भिस : होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले नेपालमै एसेम्बल थालेको डिओ स्कुटरको सफलतामा महत्वपूर्ण भूमिका देशभर फैलिएको नेटवर्कको छ । साथै, बलियो सर्भिस नेटवर्क र पार्ट्स उपलब्धताले डिओको बिक्रीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।

आक्रमक बजार रणनीति : स्याकार ट्रेडिङले बेला बखत ल्याउने अनौठा स्कीम र फाइनान्स सुविधाले कम्पनीको आक्रमक रणनीतिलाई प्रतिबिम्बित गर्छ । स्याकार इन्भेष्टमेन्टले दिने सुविधाको कारण पनि डिओको बिक्री उच्च हुँदै आएको देख्न सकिन्छ ।

कमजोर पक्ष

बुट स्पेस : यसको सबैभन्दा ठूलो कमजोरी बुट स्पेश हो । होन्डाले डिओमा केबल १८ लिटरको अन्डर सिट बुट स्पेस दिएको छ । सानो स्पेस भएको कारण धेरै सामान राख्नुपर्नेका लागि सम्भव हुँदैन ।

सस्पेन्सन र छोटो ह्वीलबेस : डिओमा अगाडि टेलिस्कोपिक र पछाडि मोनोसकसँगै स्विङआर्म सस्पेन्सन दिएको छ । यो सस्पेन्स केही कडा भएको कारण अफरोडमा केही असहजता हुन्छ । साथै, १२६० एमएम लामो ह्वीलबेसको कारण तीव्र गतिमा चलाउँदा स्थिरता पाउन सकिँदैन ।


Back_to_top