काठमाडौं । सार्वजनिक सवारी साधन चुस्त/दुरुस्त छन् छैनन् भनेर हरेक ६ महिनामा एकपटक चेकजाँच गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार सरकारले देशका ५ ठाउँमा सवारी परीक्षण केन्द्र (भेहिकल फिटनेस टेष्ट सेन्टर) स्थापित गरेको छ ।
हाल काठमाडौंको टेकु, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुनसरीको इटहरी र रुपन्देहीको बुटवलमा सवारी परीक्षण केन्द्र संचालनमा छन् । यातायात व्यवस्था विभाग मातहत रहेका यी कार्यालयहरूले अन्तर प्रदेश चल्ने सवारी साधनको चेकजाँच गर्दै आएका छन् ।
तर, तीमध्ये टेकु बाहेक अन्य सबै सवारी परीक्षण केन्द्र नाम मात्रैका छन् भन्दा फरक पर्दैन । ती केन्द्रमा सवारी परीक्षण होइन, निरीक्षण मात्र हुन्छ । अर्थात् कर्मचारीले ‘भिजुअल इन्स्पेक्सन’ मात्रै गर्छन् । कुनै उपकरण प्रयोग गरेर सवारी साधनको परीक्षण हुँदैन । केन्द्रका कर्मचारीहरूले ‘धामीले नाडी छामेर’ उपचार गरे जसरी सवारीका पार्टपूर्जा छामेर/हेरेर चेकजाँच गर्छन् । निरीक्षण मात्रै गरिने भए पनि परीक्षण केन्द्र भनिँदै आइएको छ ।
सवारी निरीक्षण अन्तर्गत लाइट, वाइपर, गियर, सिट, फर्स्ट एड किट, झ्याल ढोका लगायत भिजुअली चेकजाँच हुन्छ । सवारी परीक्षण गर्न ब्रेक, पावर, टर्क, साइड स्लीप टेस्ट, सस्पेन्सन, हेटलाइट, हर्न इन्टेनसिटी, स्टेयरिङ, टायर लगायत मेसिनबाटै जाँच गर्नुपर्छ ।
तर, टेकु बाहेक देशका अन्य परीक्षण केन्द्रमा प्रदूषण जाँच गर्ने बाहेक अन्य मेसिन, उपकरण उपलब्ध छैन । विश्वका अधिकांश देशमा सवारीको परीक्षण अटोमेसन प्रविधिबाट हुने भए पनि नेपालमा भने म्यानुअलीमै सीमित छ ।
यातायात व्यवस्था विभाग (सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखा)का निर्देशक श्रीकान्त यादव भेहिकल फिटनेस टेष्ट सेन्टरहरूमा क्रमशः आधुनिक उपकरणहरू जडान गरिँदै लैजाने योजना रहेको बताउँछन् । उनले टेकुमा मेसिनबाटै चेकजाँच गर्ने व्यवस्था मिलाइएको र अन्य केन्द्रहरूमा क्रमशः मेसिनहरू प्रयोग गरिने उनले बताए ।

‘अहिले टेकुबाट धेरैजसो परीक्षण मेसिनबाटै हुन्छ । अन्य कार्यालयहरूमा हाल म्यानुअली चेकजाँच हुँदै आएको छ । अब क्रमशः अन्य कार्यालयहरूमा पनि सोही व्यवस्था मिलाउँछौं,’ उनले मेरोअटोसँग भने ।
अन्य कार्यालयहरू आफ्नै जग्गामा नभएका कारण मेसिन जडानमा समस्या भएको विभागको भनाइ छ । साथै, पर्याप्त बजेट नहुँदा र सरकारको प्राथमिकतामा पर्न नसक्दा मेसिनहरू जडान हुन नसकेको हो । हाल संचालनमा रहेका परीक्षण केन्द्रहरू मध्ये टेकुबाहेक अरू सबै कार्यालयहरू भाडाको जग्गामा संचालनमा छन् ।
टेकुले ‘जोगाएको’ नाम
देशका ५ वटा भेहिकल फिटनेस टेष्ट सेन्टर मध्ये टेकुमा मात्रै केही उपकरण जडान (सेमी इक्युप्पड) छ । केही उपकरण भएकै कारण टेकुलाई भेहिकल फिटनेट टेष्ट सेन्टर भन्न मिल्छ । यद्यपि, त्यहाँ पनि पर्याप्त छैन । जडान भएकै केही उपकरण पनि बिग्रिएको अवस्था छ ।
सवारी परीक्षण कार्यालय, टेकुका कार्यालय प्रमुख सुरेश श्रेष्ठका अनुसार त्यहाँ सवारी परीक्षणका लागि फिटनेस टेष्टिङ लेन, च्यासिस डाइनामोमिटर, न्वाइज टेस्टर, लाइट टेस्टर, पोलुसन टेस्टर जस्ता उपकरण जडान गरिएका छन् ।
ती उपकरणबाट ब्रेक टेष्ट, साइड स्लीप टेस्ट, सस्पेन्सन, हेटलाइट, हर्न इन्टेनसिटी परीक्षण गर्ने गरिएको उनले बताए । ‘यहाँ सवारी परीक्षणका लागि मेसिनहरू जडान गरिएको छ । फिटनेस टेस्टिङ लेनबाट स्वचालित रुपमै सवारीहरूको ब्रेक, साइड स्लीप, सस्पेन्सन, हेडलाइट बिम इन्टेनसिटी, साउण्ड इन्टेन्सिटी परीक्षण हुन्छ । साथै, च्यासिस डाइनामो मिटरबाट गाडीको पावर, टर्क जाँचिन्छ,’ उनले मेरोअटोसँग भने ।
यद्यपि, हाल फिटनेस टेष्टिङ लेन भने बिग्रिएकाले संचालनमा नरहेको उनले बताए । ‘अहिले फिटनेस टेष्टिङ लेन बिग्रिएको छ । चिनियाँले जडान गरेकाले मर्मतका लागि उनीहरू नै आउँनुपर्छ,’ उनले भने, ‘तर, चाँडै मर्मतका लागि नेपालमै पनि सक्षम प्राविधिकहरू छन् खोजिरहेका छौं ।’

अझै केन्द्रलाई ‘फुल्ली इक्युप्पड’ बनाउन स्टेरिङ टेष्टर, सस्पेन्सन टेस्टर लगायत उपकरण आवश्यक रहेको उनको भनाइ छ ।
अन्त हुन्छ निरीक्षण, भनिन्छ परीक्षण
टेकु बाहेका उपत्यका बाहिरका सवारी परीक्षण केन्द्रलाई प्राविधिक रूपमा फिटनेस टेष्ट सेन्टर भन्न नमिल्ने खालका छन् । कार्यालयको बोर्डमा सवारी परीक्षण केन्द्र लेखिए पनि ‘इक्युप्पड’ छैनन् । ती केन्द्रहरूमा पोलुसन टेष्टर बाहेक टेष्टिङ लेन, च्यासिस डाइनामोमिटर, न्वाइज टेस्टर, लाइट टेस्टर, स्टेरिङ टेष्टर लगायत उपकरण छैनन् । कर्मचारीले भिजुअली गर्ने निरीक्षणलाई नै परीक्षण भनिँदै आएको आइएको छ ।
सवारी परीक्षण कार्यालय, अत्तरियाका प्रमुख सुवास बडुले सवारी साधनको अधिकांश चेकजाँज भिजुअली गरिने गरेको बताए । प्रदूषण जाँच भने मेसिनबाट गरिरहेको उनले बताए । ‘सवारी जाँच गर्दा ब्रेक, चेसिस, सस्पेन्सन, डाइनामो मिटर, टायर, हर्न इन्टेन्सिटी, सिसा लगायतको कन्डिसन हेरिन्छ । यो सबै म्यानुअली नै चेकजाँच हुन्छ,’ उनले मेरोअटोसँग भने, ‘प्रदूषण चेक भने मेसिनबाटै गर्छौं ।’
कार्यालय भाडाको जग्गामा रहेकाले चेकजाँच गर्ने मेसिनहरू जडान गर्न नसकिएको उनले बताए । ‘अहिले भाडाको जग्गामा छौं । स्थायी कार्यालय नभएसम्म मेसिन जडान गर्न मिल्दैन । स्थायी कार्यालय बनाउन सरकारी जग्गा खोजिरहेका छौं । स्थायी संरचना बनेपछि मेसिनबाटै चेकजाँच गर्ने व्यवस्था मिलाइन्छ,’ उनले भने ।
त्यस्तै, सवारी परीक्षण कार्यालय हेटौंडाका प्रमुख अमित आचार्यले सवारीको प्रदूषण बाहेक अन्य चेकजाँच म्यानुअली नै गर्ने गरिएको बताए । फिटनेस टेष्ट सेन्टर लिजको जग्गामा रहेकाले चेकजाँच गर्ने मेसिन जडानमा गर्न समस्या भएको बताउँछन् ।
‘सवारीको अधिकांश चेकजाँचका लागि आधुनिक मेसिनहरू उपलब्ध छैनन् । प्रदूषण बाहेक अन्य चेकजाँच कर्मचारीले हेरेरै गर्नुहुन्छ,’ उनले मेरोअटोसँग भने, ‘आफ्नै जग्गामा कार्यालय नहुँदासम्म मेसिन जडान गर्न मिल्दैन । जग्गा किन्न बजेट माग गरेका छौं । सँगसँगै सरकारी जग्गा पनि खोजीरहेका छौं ।’
सवारी परीक्षण कार्यालय इटहरीका सूचना अधिकारी आशिष चौधरीले आफ्नै जग्गाका फिटनेस टेष्ट सेन्टर बनाउन जग्गा खोज्ने प्रक्रिया अघि बढाएको बताउँछन् । ‘अहिलेसम्म सवारीको चेकजाँच म्यानुअली नै गर्दै आएका छौं ।
मेसिनले मार्फत सवारी साधनको चेकजाँच गर्दा कमजोरी ठ्याकै पत्ता लगाउन नसकिने प्राविधिकहरू बताउँछन् । म्यानुअली चेकजाँच गर्दा सवारी साधनको पार्टपूर्जाको भित्रि अवस्था थाहा नहुने भएकाले वास्तविक कमजोरी पत्ता नलाग्ने उनीहरूको भनाइ छ ।
थप ३ ठाउँमा बनाइँदै
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सातै प्रदेशमा एकएक सवारी परीक्षण केन्द्र स्थापनाको योजना बनाएको छ । सो अनुसार मधेशको गण्डकी प्रदेशको पोखरा, मधेशको बर्दिबास र कर्णालीको सुर्खेतमा कार्यालय बनाउने प्रस्ताव गरेको छ ।
सवारी परीक्षण कार्यालयहरूका लागि सरकारले आगामी आवमा १० करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


