काठमाडौं । सन् २०२५ नेपाली बजारमा हुन्डाई क्रेटाको क्रेज फिर्ता आएको वर्ष बन्यो । गत वर्ष सर्वाधिक आयात र बिक्री भएको सिंगल मोडल पनि हुन्डाई क्रेटा नै हो ।
नेपाली बजारमा क्रेटा इलेक्ट्रीक र पेट्रोल इन्जिनमा उपलब्ध छ । पेट्रोल इन्जिनमा उपलब्ध क्रेटा नेपालमै एसेम्बल हुँदै आएको छ । ईभी भने तयारी अबस्थामै भारतबाट आयात गरिन्छ ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले १ हजार २३७ युनिट क्रेटा सन् २०२५ मा नेपाल ल्याएको देखिन्छ । गत वर्ष सिंगल मोडल धेरै आयातको आधारमा क्रेटा सबैभन्दा माथि रहन सफल भएको हो ।
लक्ष्मी मोटर्स कर्पोरेशनले सन् २०२५ मार्चबाट नेपालमै एसेम्बल गर्दै आएको क्रेटा एक १० महिनाको अवधिमा ८२१ युनिट एसेम्बल भइसकेको छ । साथै, कम्पनीले गत वर्ष ६४ युनिट तयारी अवस्थाको पेट्रोल क्रेटा पनि नेपाल ल्याएको थियो ।
मार्च २४, २०२५ मा नेपाली बजारमा आधिकारीक बिक्री सुरु भएको क्रेटा ईभी अहिलेसम्म ३५२ युनिट आयात भएको छ । चिनियाँ ईभीहरुसँग कडा प्रतिस्पर्धा गर्न बजारमा आएको क्रेटा ईभीको आयात पनि राम्रो मान्न सकिन्छ । तर, पेट्रोल क्रेटाको तुलनामा ईभीले राम्रो ब्यापार गरेको मान्न भने सकिँदैन ।
मूल्यमा विविधता
हुन्डाई क्रेटाको मूल्यमा निकै धेरै अप्सन पाउन सकिन्छ । यदि, तपाईको रोजाइ पेट्रोल क्रेटा हो भने इन्ट्री भेरियन्ट ‘ई’को मूल्य ५७ लाख ९६ हजारबाट सुरु हुन्छ ।
तपाईको छनोट टप भेरियन्ट हो भने ७९ लाख ९६ हजार रुपैयाँ तिर्नु पर्छ । यदि, इलेक्ट्रीक क्रेटा तपाईको छनोट हो भने ५१ लाख ९६ हजारदेखि ७६ लाख ९६ हजार रुपैयाँसम्म तिरेर किन्न सक्नु हुन्छ ।
पेट्रोल र इलेक्ट्रीक दुबैमा हुन्डाईले थुप्रै भेरियन्ट अफर गरेको छ ।


