भदौ पहिलो साता बिक्री सुरू हुँदै एस-०५, तीन भेरियन्टमा छान्न पाइने

काठमाडौं । दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले दीपल एस-०५ एसयूभी भदौ पहिलो सातादेखि बिक्री सुरू गर्ने तयारी थालेको छ । त्यसको लागि केही युनिट एसयूभी अहिले नेपाल आइरहेको कम्पनीले जनाएको छ ।

आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा यसलाई प्रदर्शनी गर्ने कम्पनीको भनाइ छ ।

चिनियाँ कम्पनी दीपलले बनाएको एस-०५ थाइल्याण्डमा उत्पादन भएको मोडल हो । यसको राइट ह्याण्ड ड्राइभ मोडल थाइल्याण्डमा बन्छ । त्यसैले एमएडब्लू वृद्धिले पहिलो पटक दीपलको एसयूभी थाइल्याण्डबाट ल्याउन लागेको हो ।

दुई महिना अगाडि थाइल्याण्ड मोटर शोमा प्रदर्शन भएको दीपल एस-०५ विभिन्न तीन भेरियन्टमा नेपाल आउन लागेको हो । थाइल्याण्डमा पनि यसको तीन भेरियन्ट नै बिक्री सुरु भएको छ । लाइट, प्लस र म्याक्स गरी तीन भेरियन्टमा आउने एसयूभीको मूल्य ५० लाखदेखि ६० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

साइजमा पनि निकै आकर्षक एस-०५ एसयूभीको लम्बाइ ४६२० एमएम, चौडाइ १९०० र उचाइ १६०० एमएम छ । यसको ह्वीलबेस पनि २८८० एमएम छ ।

स्टील र आल्मुनियम बडी, ६ वटा एयरब्याग, हिडन एसी भेन्ट उपलब्ध एसयूभीमा १५.४ इन्चको सेन्टर स्कृन पाउन सकिन्छ । क्वालकमको एसए ८१५५पी अटोमोटीभ चीप्स जडान भएको एस-०५ मा ठूलो एचयूडी रहेको छ । यसको सिटहरु पनि निकै आरामदायी रहेको कम्पनीको दावी छ ।

हाइडेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर-वेभ राडार, १२ अल्ट्रासोनीक रेडार सहितको एसयूभीमा दीपल एस-०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको छ । इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोल जस्ता फिचर यसमा छन् ।

दीपलले यसमा १७५ किलोवाटको मोटर र ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ । तर, नेपाली बजारमा कुन साइजको मोटरमा उपलब्ध हुन्छ, कम्पनीले एकिन जानकारी बाहिर ल्याएको छैन ।

दीपल एस-०५ मा ५० वाटको वायरलेस चार्जर, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, पानारोमिक सनरुफ, ६४ कलरमा उपलब्ध एम्बीयन्ट लाइट र ४९२ लिटरको ठूलो बुट स्पेस छ ।

नेपालमा निकै सफल मानिएको एस-०७ को सफलतालाई निरन्तर राख्न एस-०५ सफल होला वा नहोला, त्यो हेर्न भने केही महिना कुर्नै पर्ने हुन्छ ।


Back_to_top