ठूलो ब्याट्री र मोटरमा आयो ‘दीपल एस-०७’, मूल्यमा कति फरक ?

काठमाडौं । दीपल ‘एस-०७ एलआर’ मोडल नेपाल आएको छ । कम्पनीले पछाडि लगाएको एलआरको अर्थ ‘लङरेन्ज’ भन्ने हो । अहिले बजारमा बिक्री हुँदै आएको दीपल एस-०७ को लङरेन्ज भर्सन दशैं अगाडि नै नेपाल भित्रिएको थियो ।

चांगानको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले १६० किलोवाटको मोटर र ७९ किलोवाट आवरको ब्याट्री प्याकमा ल्याएको एस-०७ एलआर मोडलको मूल्य पनि अहिले बिक्री हुँदै आएको मोडलभन्दा महंगो हुनेछ ।

अहिले बजारमा उपलब्ध मोडलको तुलनामा १३ किलोवाट आवरले ठूलो ब्याट्री यसमा पाउन सकिन्छ । यसमा रहेको ७९ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४८५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा मोटर पनि ६१ किलोवाटले ठूलो हुनेछ ।

नेपालमा बिक्री हुँदै आएको दीपल एस-०७ मा ९९ किलोवाट आवरको मोटर छ । नयाँ मोडल १६० किलोवाटको मोटरमा आउने छ । एसयूभीको साइज भने रेगुलर एस-०७ कै हुनेछ । यसको लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम, उचाइ १६२५ एमएम र ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहने छ । २० इन्चको ठूलो आल्मुनियम ह्वील रहने छ ।

एक्सटेरियरमा सबै लाइटहरु एलइडी प्रयोग गरेको कम्पनीले प्रोजेक्टर हेडल्याम्प, पानारोमिक सनरुफ, फ्रेमलेस विन्डो, इलेक्ट्रिक हिडन डोर ह्याण्डल, पावर टेलगेट, बोनलेस वाइपर जस्ता फिचर छन् ।

यसको इन्टेरियर पनि अहिले बजारमा उपलब्ध एस-०७ मोडलकै जस्तो छ । टिल्ट र टेलिस्कोपीक एड्जस्ट गर्न मिल्ने मल्टी फङ्गशनल स्टेरिङ ह्वील र सेन्थेथिक लेदर सिटले यसको क्याविन निकै आकर्षक लाग्छ । साथमा मेमोरी र भ्यान्टिलेसन सहितको वेलकम सिट, वायरलेस चार्जरले चालक र यात्रुलाई सहज र आरामदायी यात्रा दिलाउने छ ।

यसको एसी ड्यूल जोन अटोमेटीक हो । पछाडि बस्ने यात्रुहरुलाई मध्यनजर गर्दै रियर एसी भेन्ट दिइएको छ । साथै, मोनिटर सहितको पीएम २.५ फिल्टर र एयर प्यूरिफायर पनि यसमा उपलब्ध हुनेछ ।

कार फलो, स्टप र गो, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटीक इमर्जेन्सी ब्रेक, लेन किप एसिस्ट, ट्राफिक जाम एसिस्ट र लेन डिपार्चर वार्निङसहितको एडाप्टीभ क्रुज कन्ट्रोल पाउन सकिन्छ । साथै, एडास २.५ भित्र पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा रहेको छ ।

यसको क्याविन पनि निकै अत्याधुनिक छ । इको, कम्फर्ट, स्पोट्र्स र कष्टुमाइज गरी चार ड्राइभिङ मोड उपलब्ध कारमा हेडअप डिस्प्ले, १५.६ इन्चको टच स्कृन, १४ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले, एम्बीयन्ट लाइट, जेस्चर रिकग्नेसन, डिजिटल की जस्ता फिचर छन् ।

सुरक्षाको लागि आवश्यक सम्पूर्ण फिचर उपलब्ध कारमा ३६० डिग्री क्यामेरा र ३६० डिग्री भिडियो रेकर्डर यसमा दिएको छ । एस-०७ एलआरको मूल्य रेगुलर मोडलको भन्दा १० लाख रुपैयाँ बढी पर्नेछ । रेगुलर मोडलको अधिकतम ७४ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले एलआर भेरियन्टको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ प्रकाशित गरेको छ ।

 


Back_to_top