काठमाडौं । अधिकांश ब्राण्डले नेपालमा बिक्री गर्दै आएको विद्युतीय कारको आयातमा २ लाख रुपैयाँसम्मले मूल्य कम भएको छ । विगतमा १ लाख ६२ हजार युवानमा आयात हुने गाडी अहिले १ लाख ५१ हजार युवानमा आइरहेको छ ।
अघिल्लो वर्ष १ लाख ६५ हजार युवानमा आएको गाडी अहिले १ लाख ४३ युवानमा आयात भएको छ । तर, आयात मूल्य झण्डै २ लाखदेखि ४ लाख रुपैयाँसम्मले घट्दा पनि एमआरपी भने आयातकर्ताले घटाएका छैनन् ।
माथि उल्लेख गरिएको मूल्य नेपालमा चल्तीका दुई कारमा घटेर आएको हो । एकाध बाहेक चीनबाट आयात हुने एसयूभी सेग्मेन्टका कारमा औषत ११ हजार युवानले मूल्य घटेको देखिन्छ ।
खुल्ला बजार अर्थतन्त्रमा बस्तुको मूल्य बजारले नै निर्धारण गर्छ भन्ने चलन छ । तर, सरकारले मूल्यमा अंकुश लगाउन कालोबजारी तथा केही सामाजिक अपराध ऐन २०३२ मा टेकेर कारबाही गर्दै आएको छ । प्रभावकारी नियमन र आयातकर्ताको उपभोक्तालाई मूल्यमा राहत दिनुपर्छ भन्ने सोच नहुँदा मूल्य घट्न नसकेको हो ।

ब्याट्रीको मूल्यमा भएको कटौती र उत्पादनमा भएको वृद्धिसँगै चिनियाँ कम्पनीहरुले निर्यात गर्ने गाडीको मूल्य निरन्तर घटाउँदै लगेका छन् । तर, नेपाली बिक्रेताले अफर दिने बाहेक अधिकतम खुद्रा बिक्री मूल्य अहिलेसम्म घटाएका छैनन् ।
विद्युतीय कारमा चीनले मूल्य घटाएर पठाएपनि डलर मूल्यको कारण खुद्रा बिक्री मूल्य घटाउन नसकिएको आयातकर्ताहरुको भनाइ छ ।
‘हामीले गाडीको मूल्य तोक्दा प्रति १ डलरको मूल्य १३१ रुपैयाँ थियो । अहिले डलरको मूल्य बढेर १३६ पुग्यो । हेर्दा आयातमा २ लाख मूल्य घटेको देखिएपनि डलरको कारण मूल्य समायोजन गर्न कठिन भएको हो’, एक आयातकर्ताले भने ।
उनका अनुसार अधिकतम खुद्रा बिक्री मूल्य नघटाएपनि उपभोक्ताले डिस्काउन्ट पाएका छन् । जुन पहिलाको मार्जिन हो, त्यो नबढ्ने गरी मूल्य निर्धारण हुने गरेको छ ।

