काठमाडौं । एक्स्ट्रीम १६० आरको फोरभी भर्सन नेपालमा बिक्री सुरु भएको छ । आधिकारीक बिक्रेता सिजी मोटर्सले एक्स्ट्रीम १६० आरको फोर भल्भ एडिसन बिक्री सुरु गरेको हो ।
नाडा अटो शो २०२४ मा प्रदर्शनी भएको एक्स्ट्रीम १६० आरको नयाँ भेरियन्ट बिक्री भने सुरु भएको थिएन । रेगुलर मोडलभन्दा २० हजार बढी मूल्यसहित आएको एक्स्ट्रीम १६० आर फोरभी फिचर अनुसार उत्कृष्ट मूल्यमा उपलब्ध भएको मान्न सकिने मोडल हो ।
एक्स्ट्रीम १६० आर फोरभीको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरु भएको छ । यसअघि बिक्री हुँदै आएको टुभीको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ थियो । नयाँ डिलर नियुक्त भएको सिजी मोटर्सले फोर भल्भ इन्जिनमा ल्याएर २० हजार बढी मूल्य राखेको हो ।
हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, हेड र आयल कुल्ड इन्जिन दिइएको छ । यसले पहिलेको भन्दा १.७ पीएस पावर र ०.६ एनएन टर्क बढाएको छ । यसको अधिकतम पावर ८५०० आरपीएममा १६.९ पीएस छ ।
यसको पावरमा बढोत्तरीसँगै एक्सलरेसन पनि राम्रो भएको कम्पनीको दावी छ । कम्पनीका अनुसार सेग्मेन्टमै सबैभन्दा छिटो ४.४ सेकेन्डमै ०–६० किलोमिटर प्रतिघण्टाको स्पीड यसले भेट्टाउने छ ।
कम्पनीले यसको माइलेज पनि सुधार भएको दावी गरेको छ । यसले एक लिटर पेट्रोलमा ४५ किलोमिटर माथि माइलेज दिन्छ । यसलाई थप युवामैत्री बनाउन कम्पनीले सीट र फ्यूल ट्याङ्क परिवर्तन गरेको छ । यसले खुट्टाको ग्रीप अझै राम्रो भएको छ ।
नयाँ युएसडी फर्क, उत्कृष्ट सीट पोजिसन र स्पोर्टी ह्यान्डलबारले चालकलाई घुमाउरा बाटोमा चलाउन सहज बनाउने छ । साथै, लामो यात्रामा यसलाई लिएर जान पनि सकिन्छ । यसमा प्रयोग भएको फोर्क र मोनोशकले अफरोड सडकमा समेत जर्क फिल गराउँदैन ।

