काठमाडौं । भारतमा जारी अटो एक्स्पो २०२० अन्त्यतिर पुगेको छ । फेब्रुअरी ५ देखि १२ सम्म आयोजना भएको अटो एक्स्पो यसपटक निकै खल्लो महशुस हुन्थ्यो ।
एक्स्पोमा भागलिन धेरै कम्पनीहरुले चासो देखाएनन् । अझ भनौ दुई पाङ्ग्रे सवारी निर्माता कम्पनीको उपस्थिति सून्य प्रायः थियो । भारतकै सबैभन्दा ठूला मोटरसाइकल निर्माता कम्पनीहरु हिरो, होन्डा, बजाज, टीभीएस, यामाहा जस्ता ब्राण्डले सहभागिता नजनाउँदा अटो एक्स्पो घुम्न आएका युवा निरास थिए ।
हरेक दुई वर्षमा एक पटक आयोजना हुने अटो एक्स्पोमा भारतकै ठूला सवारीसाधन उत्पादकले सहभागिता नजनाउँदा आयोजक संस्था पनि निसार देखिन्थे । उक्त अटो एक्स्पो अटोमोटीभ कम्पोनेन्ट म्यानुफ्याक्चरर् एसोसिएसन अफ इन्डिया (एसीएमए), कन्फेडेरेशन अफ इन्डियन इन्डष्ट्री (सिआइआई) र सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (सायम) तीन संस्था मिलेर आयोजना गरिएको हो ।

मेलामा करिब ४० नयाँ मोडल सार्वजनिक भएको जानकारी आयोजकले दिएका थिए भने ग्रेटवाल, एमजी र किया जस्ता ब्राण्ड अटो एक्स्पोका नवप्रबेशी कम्पनी बने ।
भारतमा गाडी उत्पादन गर्ने निशान, फोर्ड, टोयोटा, होन्डा, डाट्शन जस्ता ब्राण्डले अटो एक्स्पोमा सहभागिता जनाएनन् । यसले अवलोकनकर्ताको नयाँ कन्सेप्ट र डिजाइन हेर्ने चाहना पुरा हुन दिएन ।
एक्स्पोका आकर्षण
अटो एक्स्पोमा सर्वाधिक चर्चामा रहेको ब्राण्ड ग्रेटवाल मोटर्स हो । चिनीयाँ कम्पनी ग्रेटवालले ह्भेल्स ब्राण्डमा ल्याएका एसयूभी र सानो इलेक्ट्रीक कार आर १ निकै चर्चामा रहेको थियो ।

सर्वाधिक चर्चामा रहेको ब्राण्डमा किया पनि देखिन्थ्यो । कियाले आफ्नो आउँदै गरेको सोनेट सब फोर मिटर एसयूभी, सेल्टोस एक्स, कार्निभल, सोललगायतका मोडल शोकेस गरेको थियो ।
त्यस्तै टाटाले स्टलको छतमा नै नेक्सन इभीको टेष्ट ड्राइभ गराएर अनौठो सुरुवात गरेको चर्चा अन्य सहभागिबाट समेत पाईरहेको थियो ।
एमजीले आफ्नो ब्रिटीस छबि देखाउन स्टलमा निकै मिहेनत गरेको देखिन्थ्यो भने हेक्टर प्लस, पुराना रेसिङ कार र नयाँ कन्सेप्ट एसयूभी शोकेस गरेर अबलोकन कर्तालाई खुराक दिएको थियो ।
महिन्द्राले आफु इलेक्ट्रीकमा जाइन्ट कम्पनी भएको पुष्टी गर्न कुनै कसर बाँकी राखेको थिएन । उसले एकै पटक केयूभी १००, एक्सयूभी ३००, फनस्टर कन्सेप्ट, क्वाटरसाइकल एटम सार्वजनिक गरेको थियो ।

भारतका ठूला दुई अटो उत्पादक मारुती सुजुकी र हुन्डाईले पनि आफ्ना स्टलमा ग्राहक तान्न कुनै कसर बाँकी राखेनन् ।
मारुती सुजुकीले नयाँ इलेक्ट्रीक कन्सेप्ट कार ल्यायो भने आफ्नो चर्चित सब फोर मिटर एसयूभी भिटारा ब्रेजा पेट्रोल, सुजुकी जिम्नी र इग्नीस फेसलिफ्ट जस्ता मोडल सार्वजनिक गरेर अबलोकन कर्ताको मन जित्ने कोशिष गरेका थिए ।
हुन्डाईले ले फिल रग कन्सेप्ट, हाइड्रोजन फियुल सेल नेक्सो र अल न्यू क्रेटा सार्वजनिक गरेर अबलोकन कर्तालाई जम्मा गर्न सफल देखियो ।
मोटरसाइकलमा निरास

मोटरसाइकल हेर्न अटो एक्स्पो जानेका लागि निरासा बाहेक केही थिएन । एक्स्पोको एउटा कुनामा राखिएका स्टलमा सुजुकी र भेष्पा नाम चलेका ब्राण्ड थिए भने अन्य सबै स्टार्टअप कम्पनीले बनाएका इलेक्ट्रीक स्कुटर र मोटरसाइकल थिए ।
चल्तीका कम्पनीले भाग नलिदा अटो एक्स्पोमा युवाहरु निरास भएका थिए ।
दक्षिण एसियाली सहकार्य
अटो एक्स्पोमा आधिकारीक रुपमा सहकार्यको थालनी भएको छ । नेपाल, भारत, बंगलादेश, म्यानमार र श्रीलंका जस्ता देशमा रहेका अटोमोवाइल सम्बद्ध संघ संस्थाको बैठक प्रदर्शनी केन्द्रमा रहेको हलमा भएको थियो ।
उक्त बैठकको मुख्य उद्देश्य भारतमा गाडी उत्पादन भएर बिक्री वितरण हुने देशबीचमा आपसी छलफल र सद्भाव बिस्तार गर्ने रहेको कुरा बुझन कठिन छैन ।

भारतमा हुने अटो एक्स्पोमा विदेशी अबलोकन कर्ताको खाँचो महशुस गर्दै आयोजक संस्थाहरुले बिभिन्न देशका संघ संस्थाको प्रमुखसहितको पहिलो संयूक्त बैठक बसेको थियो । उक्त बैठकमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा उपाध्यक्ष करण चौधरी र महासचिब सुनिल रिजाल सहभागि भएका थिए ।
यसले अन्य सदस्य राष्ट्रलाई पनि केही फाइदा पुग्ने छ । उत्पादकसँगको सिधा दुई पक्षिय बैंठकले केही नीतिगत सुधारका विषयमा पनि छलफल गर्न सक्ने भएकाले आगामी दिनमा यसलाई अझ विस्तार गर्दै लाने पक्षमा भारतीय अटोमोबाइल उत्पादक संघ रहेको देखिन्छ ।
त्यसैले उसले हरेक देशको अर्थमन्त्रालयका प्रतिनिधि सहितको एउटा संस्था बनाएर अगाडि बढ्ने तयारी थालेको छ । जसले अटो क्षेत्रको विकास, विस्तार र व्यापारमा सहयोग पुग्ने अनुमान गर्न सकिन्छ ।

