काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीको प्रिमियम ब्राण्ड डेन्जाले सुपरकार सार्वजनिक गर्ने भएको छ । उच्च प्रदर्शन क्षमतायुक्त विद्युतीय रोडस्टर Denza-Z लाई जुलाई ९ मा बेलायतमा आयोजना हुने गुडउड फेस्टिभल अफ स्पिडमा देखाउन लागेको हो ।
डेन्जाले चिनियाँ सामाजिक सञ्जाल वेइबोमार्फत सार्वजनिक गरेको टिजरमा डेन्जा-जेडले विश्वभरका चर्चित सुपरकारसँग एउटै मञ्च साझा गर्ने जनाएको छ । गुडउड फेस्टिभललाई ‘शताब्दी पुरानो मोटरस्पोर्टको प्रतिष्ठित मञ्च’ को रूपमा लिने गरिन्छ ।
बेलायतको वेस्ट ससेक्सस्थित गुडउड हाउसमा आयोजना हुने यो मोटरस्पोर्ट महोत्सव जुलाई ९ देखि १२ सम्म सञ्चालन हुनेछ । कार्यक्रम नजिकै रहेको ३.८ किलोमिटर लामो ऐतिहासिक गुडउड सर्किटमा सुपरकारहरूको प्रदर्शनी पनि हुनेछ ।
डेन्जा जेडमा तीनवटा विद्युतीय मोटर प्रयोग गरिएको छ । अगाडिको एक मोटरले ५०० किलोवाट पावर उत्पादन गर्छ । पछाडि दुई मोटर छन् । यी दुई मोटरको संयुक्त पावर ६८० किलोवाट छ ।
तीनवटै मोटरको संयुक्त पावर ११८० किलोवाट हुन्छ । पावर क्षमताको आधारमा डेन्जा जेड बीवाइडी समूहकै सबैभन्दा शक्तिशाली मोडलमध्ये एक हो ।
कम्पनीका अनुसार डेन्जा जेडले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब २ सेकेन्डमै लिन सक्छ । ठूलो रियर स्पोइलरसहितको संस्करणको अधिकतम गति ३५० किलोमिटर प्रतिघण्टा रहने बताइएको छ ।
डेन्जा जेड दुई ढोकायुक्त चार सिट क्षमताको स्पोर्ट्स कार हो । यो हार्डटप र कनभर्टिबल दुवै संस्करणमा उपलब्ध हुनेछ । यसको लम्बाइ ४७८० एमएम, चौडाइ १९९० एमएम र उचाइ १३५० एमएम छ । यसमा ह्वीलबेस २७८० एमएम लामो पाउन सकिन्छ ।
डेन्जाले यसमा प्रयोग भएको ब्याट्री साइजका विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । यसमा सस्पेन्सन सेटअप भने डिसुस एम म्याग्नेटोरियोलोजिकल एक्टिभ सस्पेन्सन, फ्ल्यास चार्जिङ, स्टियर-बाइ-वायर चेसिस र डिआइपाइलट ५.० एड्भान्स ड्राइभर असिस्टेन्स प्रणाली प्रदान गरेको छ ।


