काठमाडौं । अटोहोस्टले नेपालमा विक्री गर्दै आएको डेरी ब्राण्डको विद्युतीय कारको नयाँ मोडल नेपाल आएको छ । कम्पनीले यसअघि सोलार प्यानल भएको र नभएको दुई फरक मोडल विक्री गर्दै आएको भएपनि अहिले दुबै भेरियन्टमा सोलार जडान भएर आएको हो ।
कम्पनीले नेपाल ल्याएको एम ७ कारको रेञ्ज निकै बढेको कम्पनीले दावी गरेको छ । यसमा दिइएको सामान्य चार्जर पनि पहिलेको तुलनामा परिष्कृत भएर आएको कम्पनीको दावी छ । नयाँ चार्जरले ४ घन्टा ३० मिनेटमा सामान्य घरायसी विजुलीबाट यसलाई फुल चार्ज गर्न सकिनछ ।
चिनीयाँ ब्राण्डको यो कार सहरी क्षेत्रको लागि उपयुक्त रहेको विक्रेता कम्पनीको भनाई छ । यसमा १७ किलोवाट आवरको व्याट्री र १५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । सनो क्षमताको मोटरको कारण यसले एक पटकको फुल चार्जमा २३० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।
यसमा ३०० वाट क्षमताको सोलार प्यानल छतमा जडान भएको छ । सोलारले पनि दैनिक घाम लागेको स्थानमा राख्ने हो भने ३० किलोमिटर चलाउन पुग्ने व्याट्री रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी समग्रमा २६० किलोमिटर रेञ्ज पाउने कम्पनीको दावी हो ।
निकै सानो र छरितो लाग्ने यो इलेक्ट्रीक ह्याचव्याकको लम्बाई ३४८० एमएम, चौडाई १५७० एमएम र उचाई पनि १५७० एम रहेको छ भने, ह्वीलवेस २२९७ एमएमको रहेको छ ।
कम्पनीले ल्याएको नयाँ एम ७ मा नयाँ हेडरेष्ट दिइएको छ । हिल एसिस्ट, पावर विन्डो, एसी, हिटर, टचस्कृन, इन्ब्यूल्ट रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, रिमोट कि, अलोय ह्वील जस्ता फिचर ग्राहकले यसमा पाउने छन् ।
अटोहोस्टले नयाँ परिमार्जन सहित आएको डेरी एम ७ को मूल्य २१ लाख रुपैयाँ कायम गरेर विक्री सुरु गरेको छ । यसलाई किन्न चाहने ग्राहकले ४ लाख २० हजार डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जामा लिएर गाडी खरिद गर्न सक्ने छन् । बैंकहरुले इलेक्ट्रीक गाडीमा ८० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउँदै आएका छन् ।


