पशुपति क्षेत्रमा गाडीबाट फोहर फाल्न खोज्ने चालक कारवाहीमा

काठमाडौं । रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहर फाल्दै गरेका चालक कारवाहीमा परेका छन् । 

आइतबार राति तिलगङगा–गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए । चालक सुदीप खड्का र सवारीलाई रातभर नियन्त्रणमा राखी कारवाहीका लागि वडा कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए । 

सवारी चालकलाई काठमाडौँ महानगरपालिका वडा नं ८ कार्यालयले आगामी दिनमा पशुपति क्षेत्रमा फोहर नफाल्ने शर्तमा पाँच हजार जरिवाना गरी छोडिदिएको वडा अध्यक्ष दीनेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । चालकले बबरमहलबाट फोहर लगी पशुपति जङ्गलमा फाल्न खोजेका थिए । 

ऐतिहासिक पशुपति जङ्गलको बीचबाट तिलगङ्गा–गुह्येश्वरी मार्ग खुलेपछि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदाबाट हटाउने चेतावनी दिइसकेको छ । 


Back_to_top