गाडी चलाउँदा जुत्ता बन्न सक्छ, तपाईंको ज्यानको दुश्मन !

काठमाडौं । परिवर्तनशील समयसँगै महिला र पुरुषबीचको अन्तर साँघुरिँदै गएको छ । सबै क्षेत्रमा समान हिसाबले महिलाको सहभागिता देख्न सकिन्छ । अन्य क्षेत्रमा जस्तै पछिल्लो समय ड्राइभिङ क्षेत्रलाई महिलाले विशेष शौखको रुपमा लिन थालेका छन् । 

प्रायःजसो कार ड्राइभिङ गर्ने वर्किङ महिलाले हिल लगाउने गरेका छन् । तर, ड्राइभिङको समयमा हिल लगाउनु निकै हानीकारक हुने सवारी विज्ञ बताउँछन् ।

महिलाले हिल लगाएर सवारीसाधन चलाउनु कानुनीरुपमा अपराध त मानिँदैन, तर यसले ड्राइभिङ क्षमतालाई भने निकै नोक्सान पुर्याउने गर्छ । त्यतिमात्रै नभई, शारीरिकरुपमा असर पुर्याउन सक्छ । यीबाहेक हिल लगाएर ड्राइभिङ गर्दा निम्नलिखित असर पर्न सक्छ । 

हिलले ड्राइभिङ स्किललाई प्रभाव पार्न सक्छ 

हिल लगाएर ड्राइभिङ गर्दा खुट्टाको अवस्था सिधा नहुने सम्भावना रहन्छ । खुट्टाको पञ्जाको मूभमेन्ट नमिल्दा पटक–पटक ब्रेक, एक्सलेटर वा क्लचको प्रयोग गर्दा समस्या निम्तिन्छ । जसको कारण ड्राइभिङ नियन्त्रण गुम्नसक्छ । तत्काल खुट्टाको सहायताले ब्रेक लगाउनु पूर्णतया असम्भव हुने हुँदा ठूलो दुर्घटना निम्तिन समय लाग्दैन । 

हिल जुत्ता यसरी बन्नसक्छ, तपाईंको मृत्युको कारण

हिल जुत्ता लगाउदा एक्सलेटर वा ब्रेक लगाउन कति प्रेसर चाहिन्छ भन्ने यकिन सम्झना नआउन सक्छ । ड्राइभिङको समयमा हिलको प्वाइन्टले कारको सरफेसलाई छोइरहेको हुन्छ । जुन समय र दिशामा प्रेसरको सही प्रयोग गर्नु निक्कै चुनौतीपूर्ण कुरा हो । 

ड्राइभिङको समयमा हिलको प्वाइन्ट कारको प्याडलमा फस्यो भने ठूलो दुर्घटनासमेत निम्तिन सक्छ । यतिमात्रै हैन, हिल जुत्ता (फुटवियर) उल्टिँदा पनि सडक दुर्घटना भएका उदारण प्रसस्तै रहेका छन् । 

सुरक्षित ड्राइभिङका लागि चुन्नुहोस्, फ्लाट सुज

सुरक्षित ड्राइभिङका लागि सबैभन्दा महत्वूर्ण कुरा स्यान्डिल वा जुत्ताको छनौट पनि हो । हिल लगाएको अवस्थामा आपत्कालिन ड्राइभिङ गर्नु परे, हिल जुत्ता फुकाल्नुपर्छ । अथवा, फ्लाट सुजको प्रयोग गर्नुपर्छ । प्याडलमा लगाउनुपर्ने प्रेसरलाई ध्यानमा राख्दै जुत्ताको प्रयोग गर्नुपर्ने हुन्छ । फुटवेयरको शोल पातलो वा सामान्य भएमा ड्राइभिङ गर्न सहज हुने गर्छ । 

नाङ्गो खुट्टाले ड्राइभिङ गर्नु कत्तिको सुरक्षित ? 

कतिपय सवारी चालकले खाली खुट्टामा नै कार चलाएको देखिन्छ । तर, हिल लगाएर ड्राइभिङ गरेजस्तै अर्काे खतरनाक हुने गर्छ, खाली खुट्टाले ड्राइभिङ गर्नु । नाङ्गो खुट्टा गाडीको प्याडलमा राख्दा पसिना आउने गर्छ । जसको कारण प्याडल स्लिप भई सजिलै ब्रेक लगाउन सकिँदैन । यसका अलवा प्याडल बदल्दासमेत खुट्टामा चोट लाग्ने सम्भावना रहन्छ । 

यस्तो छ, विज्ञको सुझाव

आनन्ददायी, सुरक्षित ड्राइभिङको अनुभव लिनका लागि राम्रो फुटवेयरको प्रयोग गर्नुपर्छ । सवारी विज्ञ कारमा सामान्य सोल भएको चप्पल अनिवार्य राख्नु उपयुक्त हुने बताउँछन् । 


Back_to_top