काठमाडौं । मध्यम वर्ग नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उपभोक्ता हो । त्यसैले केही वर्ष अगाडिसम्म फ्यामली ह्याचब्याक कारको बिक्री उच्च थियो ।
एसयूभीको आयात बढेसँगै विस्तारै मानिसहरू ह्याचब्याक छाडेर एसयूभीमा अपग्रेड भए । अहिले जस्तो साना कार र ठूला एसयूभीमा उस्तै फिचर पाउने अवस्था पहिला थिएन । त्यसैले हरेक एउटा फिचरको मूल्य उपभोक्ताले थप तिर्नु पर्थ्यो ।
विद्युतीय साधनको उत्पादन र बिक्री विश्वभर बढेसँगै नेपालमा साना ईभीको आयात वृद्धि भयो । ह्याचब्याक सेग्मेन्टमै आधा दर्जन मोडल उपलब्ध भइसकेका छन् । यस्तोमा चिनियाँ अटोमोबाइल जाइन्ट जिलीले उत्पादन गरेको फ्यामली ह्याचब्याक कार नेपाल आउने भएको छ ।
जिलीको जिओमी ब्राण्डमा ‘जिङयूआन’ ह्याचब्याक कार चीनमा बिक्री सुरू भएको धेरै भएको छैन । निकै मोर्डन लुक र फिचर लोडेड जिओमी ब्राण्डको ह्याचब्याक कार नेपाल भने प्रोटोन इमास-फाइभ नामबाट आउने छ ।
जगदम्बा मोटर्सले नेपाल ल्याउने फ्यामली ह्याचब्याक कार मूल्यका हिसाबले ४० लाख हाराहारीमा नेपाल आउने अनुमान गरिएको छ । अहिले बजारमा रहेको नामी बक्सको टप भेरियन्ट र बीवाइडी डल्फिनसँग यसको प्रतिस्पर्धा हुने देखिन्छ । साइजको आधारमा भने डल्फिनसँग मात्रै प्रतिस्पर्धा हुन्छ ।
जिली ग्रुपको स्वामित्वमा रहेको मलेशियन ब्राण्ड प्रोटोनले नेपाल ल्याउने फ्यामली ह्याचब्याक कारको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ ।
जिओमी ब्राण्डले चीनमा यसलाई दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध गराएको छ । सम्भवतः नेपाली बजारमा ठूलो मोटर र ब्याट्री साइजमा मात्रै इमास-फाइभ उपलब्ध हुनेछ ।
यसको टप भेरियन्टमा ८५ किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले १५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसमा ४०.१६ किलोवाट आवरको ब्याट्री छ । कम्पनीको ‘जिली सेन्डम ब्याट्री सेफ्टी सिस्टम’ रहेको उक्त ब्याट्रीले ३१० किलोमिटर डब्लूएलटीपी रेन्ज दिने बताइन्छ ।
पाँच जनाले आरामदायी यात्रा गर्न मिल्ने ह्याचब्याकलाई ३.३ किलोवाटको एसी र ८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । सुरक्षाको लागि एडास २.० फिचर उपलब्ध कारमा थुप्रै आधुनिक फिचर छन् ।
प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध कारमा ८.८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ किसिमको २५६ कलर एम्बियन्ट लाइट, किलेस इन्ट्री, चार स्पीकर, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट दिइएको छ ।
कम मूल्यमा मोर्डन इलेक्ट्रीक कार खोज्नेको लागि जिओमीको ह्याचब्याक कार उपयुक्त मोडल हुनसक्छ । नेपाली बजारमा डल्फिन ह्याचब्याक र नामी बक्सको बीचको मूल्यमा आउने हो भने यो ‘भ्यालू फर मनी’ प्रोडक्ट बन्न सक्छ ।