चालु आवमा गाडी किन्न ३ सरकारी बैंकले मात्रै दिए ६४% ऋण, कुनले कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा हायर पर्चेज कर्जा लगानीमा सरकारी स्वामित्वका बैंकहरू आक्रमक बनेका छन् । चालु आवको ९ महिना (साउन-चैत)मा आधा वाणिज्य बैंकले हायर पर्चेज कर्जा लगानी घटाउँदा तीन सरकारी बैंकले भने आक्रमक रूपमा बढाएका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको ९ महिनामा मात्रै वाणिज्य बैंकहरूले कुल ६ अर्ब ८ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् । जसमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, नेपाल र कृषि विकास बैंकले मात्रै ३ अर्ब ८९ करोड रुपैयाँ कर्जा ऋण दिएका हुन् । यो कुल कर्जा लगानीको ६३.९८ प्रतिशत हो ।

चालु आवमा अरू १७ बैंकले भने समग्रमा २ अर्ब १९ करोड रुपैयाँ मात्रै हायर पर्चेज कर्जा दिएका छन् । चालु आवमा २० वाणिज्य बैंकमध्ये ११ वटाले हायर पर्चेज कर्जा लगानी बढाएका छन् भने ९ वटाले घटाएका छन् ।

सरकारी बैंकहरूमा पनि राष्ट्रिय वाणिज्य बैंकले मात्रै कुल कर्जा लगानीको झण्डै आधा अर्थात् ४३.८० प्रतिशत कर्जा लगानी गरेको छ । राष्ट्रिय वाणिज्यले ९ महिनामा २ अर्ब ६६ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेको हो । यो वाणिज्य बैंकहरूले चालु आवमा लगानी गरेको सबैभन्दा धेरै हायर पर्चेज कर्जा हो । गत असारको तुलनामा यस बैंकको हायर पर्चेज कर्जाको वृद्धिदर ४२.२६ प्रतिशत छ ।

समग्र हायर पर्चेज कर्जा लगानीमा पनि राष्ट्रिय वाणिज्य तेस्रो स्थानमा छ । यस बैंकले हायर पर्चेजमा कुल ८ अर्ब ९७ करोड कर्जा दिएको छ ।

त्यस्तै, चालु आवमा कृषि विकासले ६८ करोड ६७ लाख र नेपाल बैंकले ५४ करोड ११ लाख रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका छन् । यद्यपि, समग्र हायर पर्चेज कर्जा लगानीमा भने ३ सरकारी बैंकको हिस्सा १४.२६ प्रतिशत मात्र छ । वाणिज्य बैंकहरूले कुल १ खर्ब १२ अर्ब ९४ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेकोमा सरकारी बैंकले १६ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् ।

तुलनात्मक रूपमा निजी क्षेत्रका बैंककोभन्दा सरकारी बैंकको ब्याजदर कम भएकाले ऋण लिनेहरू उतै गएको बैंकरहरू बताउँछन् । हाल वाणिज्य बैंकहरूको अ‍ैसत बेसरेट ६.३४ प्रतिशत छ । तर, यी तिनै बैंकको ६ प्रतिशतभन्दा कम छ । साथै, केहीले महँगा ब्याजदर भएका बैंकबाट सस्तो ब्याजदर भएका बैंकमा कर्जा सारेका समेत पाइन्छ ।

राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी (उपकार्यकारी अधिकृत) पवन रेग्मीले अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्यको ब्याजदर निकै सस्तो र कर्जा लगानी प्रक्रिया सहज भएकाले गाडी किन्ने ग्राहकहरू कर्जाका लागि आउने गरेको बताए ।

‘अन्य बैंकको तुलनामा हाम्रो बेसरेट निकै सस्तो छ । हाल बेसरेट ५.१४ प्रतिशत मात्रै छ । साथै, हामीले न्यूनतम २ प्रतिशत प्रिमियममै ऋण दिइरहेका छौं । ग्राहकले करिब ७ प्रतिशतमै ऋण पाउने अवस्था छ,’ उनले मेरोअटोसँग भने, ‘ब्याजदर सस्तो र सजिलै कर्जा पाइने भएकाले ग्राहक आकर्षित हुनुभएको हो । यो हाम्रो लागि राम्रो कुरा हो ।’

बैंकसँग पर्याप्त तरलता रहेकाले उत्पादनमूलक, औद्योगिक, घर, गाडी लगायत क्षेत्रमा कर्जा विस्तारलाई प्राथमिकतामा राखेको उनले बताए ।

चालु आवमा अरू बैंकले कति दिए ऋण ?

चालु आवमा सवारी साधन खरिदका लागि ग्लोबल आइएमईले १ अर्ब ७७ करोड, एभरेष्टले १ अर्ब ३५ करोड, सानिमाले १ अर्ब १४ करोड, नबिलले ८१ करोड, एनएमबीले ८० करोड, एसबीआईले साढे ७८ करोड, प्रभुले २१ करोड र सिटिजन्सले ९९ लाख रुपैयाँ ऋण दिएका छन् ।

चालु आवमा ९ बैंकको भने हायर कर्जा लगानी उल्टो घटेको छ । जसमा कुमारी बैंको सबैभन्दा धेरै १ अर्ब ३४ करोड र एन्आइसी एशियाको १ अर्ब १८ करोड रुपैयाँ घटेको छ । तुलनात्मक रूपमा यी दुवै बैंक महँगो बेसरेट हुने बैंकको पर्छन् ।

त्यस्तै, चालु आवमा स्ट्याण्डर्ड चार्टर्ड ७४ करोड, हिमालयन ६५ करोड, माछापुच्छ्रे ३२ करोड, लक्ष्मी सनराइज २९ करोड, सिद्धार्थ ९ करोड, इन्भेष्टमेन्ट मेगा ४ करोड र प्राइम कमर्शियलको पौने ४ करोड हायर पर्चेज कर्जा लगानी घटेको छ ।

चालु आवमा वाणिज्य बैंकहरूले हायर पर्चेजमा ६ अर्ब ८ करोड कर्जा प्रवाह गरे पनि समग्र बैंक तथा वित्तीय संस्थाले कुल ५ अर्ब ९ करोड ६८ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्ला २ वर्ष ऋणात्मक रहेको हायर पर्चेज कर्जाको वृद्धिदर चालु आवमा ४.१ प्रतिशत छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा १ खर्ब २४ अर्ब १० करोड हायर पर्चेज कर्जा लगानी गरेकोमा चैत मसान्त आइपुग्दा ४.१ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

चालु आवमा अर्थतन्त्र क्रमशः चलायमान बन्दै जाँदा अटोमोबाइल क्षेत्रमा पनि सुधार आएको छ । जसकारण हायर पर्चेज कर्जाको माग बढेको हो ।

यद्यपि, पछिल्लो समय राष्ट्रय बैंकले विद्युतीय सवारी साधन (ईभी)मा प्रवाह हुने हायर पर्चेज कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले ईभीको लोन टु भ्यालु रेसियो ८० प्रतिशतबाट ६० प्रतिशतमा झारेको छ ।

समग्रमा हायर पर्चेजमा कुन बैंककाे कति छ लगानी ? 

चालु आवको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेजमा कुल १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा २० वटा वाणिज्य बैंकले मात्रै १ खर्ब १२ अर्ब ९४ करोड रुपैयाँ ऋण दिएका छन् ।

२० वटा वाणिज्य बैंक मध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै १५ अर्ब ७५ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेको छ । त्यस्तै, नबिल बैंकले दोस्रो धेरै ११ अर्ब ६१ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेको छ ।

सवारी साधन किन्न सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले तेस्रो धेरै ८ अर्ब ९७ करोड रुपैयाँ ऋण दिएको छ । त्यसैगरी, सानिमा ६ अर्ब ७० करोड, एनएमबी ६ अर्ब ६३ करोड, हिमालयन ६ अर्ब ३६ करोड, प्राइम ५ अर्ब ७८ करोड, प्रभु ५ अर्ब ७७ करोड, कुमारी ५ अर्ब २५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा ५ अर्ब १६ करोड, एभरेष्ट ४ अर्ब ८१ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, सिटिजन्सले ४ अर्ब ५० करोड, सिद्धार्थले ४ अर्ब ३२ करोड, कृषि विकासले ४ अर्ब ११ करोड, माछापुच्छ्रेले ३ अर्ब ६८ करोड, लक्ष्मी सनराइजले ३ अर्ब २९ करोड, नेपालले ३ अर्ब २ करोड, नेपाल एसबीआइले २ अर्ब ७६ करोड, एनआइसी एशियाले २ अर्ब ६१ करोड र स्ट्याण्डर्ड चार्टर्डले सबैभन्दा कम १ अर्ब ७७ करोड रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेको छ ।


Back_to_top