दमौली । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम भइरहेको छ ।
आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर दूरीमध्ये अब करिब तीन किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।
यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार व्यास नगरपालिकाको दमौली बजारको एक किलोमिटर ८०० मिटर, बन्दीपुर गाउँपालिकास्थित डुम्रे बजार नजिक ३०० मिटर र सोही गाउँपालिकाको विमलनगरमा ७०० मिटर खण्डमात्रै कालोपत्र गर्न बाँकी छ ।
दमौली बजारअन्तर्गत बागबजार र मुख्यचोकमा एकतर्फी कालोपत्र भइसकेको छ । अर्कोतर्फ कालोपत्रका लागि पूर्वतयारीका काम जारी छ । त्यस क्षेत्रमा कालोपत्रका लागि काम भइरहेको छ । पूर्वी खण्डका कालोपत्र सकिएका ठाउँमा सडक मार्किङ गर्ने काम पनि भइरहेको छ । पाण्डले भने, ‘तेस्रो पटक थप भएको म्यादभित्रै बाँकी काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको छ ।’
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ ।
त्यस्तै पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति ५२ प्रतिशत पुगेको छ । यो खण्डका लागि विसं २०७८ जेठ ३ गते सम्झौता भएको थियो । यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा पाएको थियो ।