काठमाडौं । सरकारले आगामी जेठ १५ गते संघिय संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले विद्युतीय गाडीमा कर बढाउनेभन्दै व्यवसायीहरूले गाडी आयात तीव्र बनाएका छन् ।
चिनियाँ ब्राण्डहरूले उत्पादकसँग बल्कमा डिल गरेर ईभी आयात गरिरहेको भन्सार तथ्यांकमा देखिन्छ । यसअघि २० हजार डलर आसपासको मूल्यमा आउने गाडी अहिले १७ हजार डलर आसपासमै आएको छ । एउटै गाडीमा २ देखि ४ हजार डलरसम्म मूल्य घटेर गाडीहरू आइरहेका छन् । मूल्य झण्डै २० प्रतिशतले कटौती हुँदा पनि बिक्रेताहरूले मूल्य घटाएका छैनन् ।
बरु किन्दा मूल्य कम पर्ने र यता सरकारले कर वृद्धि गर्ने हल्ला आफैँ फैलाउन कतियप बिक्रेता पछि परेका छैनन् । उनीहरूले उपभोक्तालाई कर बढ्ने हल्ला गरेर छिटो गाडी किन्न मनोवैज्ञानिक दबाब दिएका छन् । आफैँ पनि कर बढ्ने कुरामा ढुक्क आयातकर्ताहरूले १ हजार ५०० युनिटसम्म एउटै ब्राण्डले गाडी मगाएको बुझिएको छ ।
वैशाख १ गतेदेखि जेठ १४ गतेसम्म चीनतर्फ रहेका रसुवागढी भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयका कर्मचारी निकै व्यस्त भएका छन् । वैशाख महिनामा नै करिब ३ हजार आसपास गाडी भन्सार छुटिसकेको अनुमान गरिएको छ ।
बजेट आउन अझै १५ दिन बाँकी छ । त्यसैले धेरै आयातकर्ताले थप ३ हजार युनिट माथि गाडी छुटाउने अनुमान गर्न सकिन्छ । विगतका वर्षमा पनि यहि ट्रेन्ड थियो । सरकारले कर बढाउने भएकाले गाडी आयात सबैको लागि फाइदा रहेको व्यवसायीहरू बताउँछन् ।
विगतका वर्षहरूमा सरकारले कर वृद्धि गरेको एक सातापछि नै गाडी बिक्रेताले नयाँ मूल्य सार्वजनिक गरेको अनुभव छ । यस्तोमा पुरानो भन्सार दरमा आयात भएका गाडीबाट मोटो रकम फाइदा पाइने हुँदा व्यवसायी ठूलो परिमाणमा गाडी ल्याउन तँछाड मछाड गर्दै आएका छन् ।
‘अहिले लगभग यो स्क्याम जस्तै हुन थाल्यो । सरकारले जहिल्यै कर आतंक चलाइरहेको छ । त्यसमा व्यवसायीले कसरी धेरै नाफा निकाल्ने भनेर काम गरेका छन् । दुवैको काम गर्ने तरिका राम्रो छैन’, लामो समय उपभोक्ता अधिकारमा लडेका ज्योति बानियाँले मेरोअटोसँग भने ।
अहिले बजारमा सबैभन्दा धेरै गाडी आयात गर्ने चिनियाँ ब्राण्डहरू छन् । जसमा बीवाइडी, एमजी, डोङफेङ नामी, दीपल, ओमोडा/जेको, लीपमोटर जस्ता चल्तीका ब्राण्डले धेरै गाडी ल्याएका छन् ।