दुई इलेक्ट्रीक एसयूभीको मूल्य ३ लाखसम्मले बढ्दै

काठमाडौं । नयाँ विद्युतीय कार नेपाल आउँदा ‘इन्टोडक्टरी प्राइस’ भन्दै सार्वजनिक भएको मूल्य बढाउने तयारी कम्पनीहरुले गरेका छन् । विशेषगरी पछिल्ला दिनमा नेपाल आयात भएको ओमोडा ई-५ र जीएसी एवोन वाईको मूल्य बढ्ने भएको हो ।

यी दुबै कार पछिल्ला दुई महिनादेखि बजारमा बुकिङ खुल्ला र केही दिनदेखि बिक्री हुँदै आएका मोडल हुन् । त्यसमा सिजी मोटर्सले नेपाल ल्याएको जीएसी एवोन-वाईको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । अब उक्त मूल्य बढाएर ५७ लाख ९९ हजार बनाउने तयारी भएको कम्पनीले जनाएको छ ।

‘इन्टोडक्टरी प्राइस भनेर हामीले ५४ लाख ९९ हजारमा एवोन वाई बिक्री सुरु गरेका थियौं । अब त्यसको मूल्य ३ लाख रुपैयाँले वृद्धि गरेर ५७ लाख ९९ हजार बनाउने छौं’, सिजी मोटर्स स्रोतले भन्यो ।

त्यसैगरी अर्को ब्राण्ड ओमोडाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ई-५ को मूल्य पनि २ लाख ५० हजारले बढाउने तयारी गरेको छ । कम्पनीले ई-५ को खुद्रा मूल्य ६१ लाख ९९ हजार रुपैयाँ प्रकाशित गरिसकेको छ ।

ओमोडा ई-५ को इन्टोडक्टरी प्राइस भनेर कम्पनीले ५९ लाख ४९ हजारमा यसलाई बुकिङ खुल्ला गरेको थियो । सुरुमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले अहिले धमाधम डेलिभरी दिइरहेको छ ।

कस्तो छ मूल्य बढ्न लागेका एसयूभी

मूल्य बढाउने तयारीमा रहेका दुबै एसयूभी चीनमा उत्पादन भएका हुन् । पावरको आधारमा दुबै कारमा समान ९९ किलोवाट पीकपावर भएको मोटर छ ।

दुबै कारमा लगभग समान ६१ किलोवाट आवर साइजको ब्याट्री पनि छ । ओमोडा ई-५ मा बीवाइडीको ब्लेड ब्याट्री छ । तर, जीएसी एवोन वाईमा सीएटीएलले उत्पादन गरेको लिथियम आयोन फस्फेट ब्याट्री छ ।

ओमोडा ई-५ को डब्लूएलटीपी रेन्ज ४३० किलोमिटर हो भने जीएसी एवोनको रेन्ज ४०४ किलोमिटर हो ।


Back_to_top