काठमाडौं । विश्वका मोटरसाइकल उत्पादक कम्पनीहरुले इटलीको मिलानमा आयोजना भइरहेको EICMA मोटरसाइकल शोमा एकसे एक मोटरसाइकल सार्वजनिक गरेका छन् ।
हार्ले डभिड्सन, होन्डा, हिरो, बेनेली, कावासाकी, केटीएम, अप्रिलिया, सुजुकी, हस्कभर्ना जस्ता कम्पनीले आफ्ना नयाँ कन्सेप्ट र उत्पादन मोडल सार्वजनिक गरेका छन् । EICMA मोटरसाइकल शोलाई मोटरसाइकलको कुम्भ मेलाको रुपमा लिने गरिएको छ ।
हामीले EICMA मा सार्वजनिक भएका उत्कृष्ट ९ मोटरसाइकलका बारेमा जानकारी दिने प्रयास गरेका छौं ।
१. हार्ले डेभिड्सन प्यान अमेरिका
हार्ले डेभिड्सनले ल्याएको पहिलो एडभेन्चर मोटरसाइकल ‘पान अमेरिका १२५०’ EICMA मा सर्वाधिक चर्चामा रहेको मोटरसाइकल हो । कम्पनीले यसमा १२५० सीसी लिक्वीड कुल्ड रिभोलुसन म्याक्स इन्जिन दिएको छ भने यसको डिजाईन सबै प्रकारका बाटोहरुमा चलाउन सहज हुने किसिमले गरिएको छ ।

यसमा दिइएको डिओएचसी भि–ट्वीन इन्जिनले १४५ बीएच पावर र १४४ एनएम टर्क जेनेरेट गर्ने दाबी हार्ले डेबिडसनले गरेको छ । यस मोटरसाइकलको विषयमा हार्लेले धेरै कुराको जानकारी नदिएपनि यसका रहेको टीएफटी ड्यासबोर्ड र मल्टीबटम स्वीच गियर, हाइट अनुसार मिलाउन सकिने स्कृन र क्रुज कन्ट्रोल जस्ता विशेषता समेटिएको छ ।
२. होन्डा सिबीआर १००० आरआर
होन्डाले ल्याएको अल न्यू होन्डा सिबीआर १००० आरआर निकै चर्चामा रहेको छ । कम्पनीले EICMA मा ल्याएको यो मोटरसाइकमा पुरै कस्मेटीक परिमार्जन गरिएको छ ।
कम्पनीले यसमा ९९९.९ सीसी क्षमताको इनलाइन फोर सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले १४५०० आरपीएममा २१४ बीएच पावर र १२५०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ ।
३.अप्रिलिया आरएस ६६०
अप्रिलियाले EICMA माेटरसाइकल शो २०१९ मा सार्वजनिक गरेको अप्रिलिया आरएस ६६० निकै चर्चा बटुल्न सफल भएको छ । कम्पनीले ल्याएको यो कन्सेप्ट मोटरसाइकल अल न्यू आल्मोनियम फ्रेमले बनेको छ ।

यसमा ६६० सीसी प्यारल्ल ट्वीन इन्जिन दिइएको छ । उक्त इन्जिनले ११० बीएच पावर प्रदान गर्ने जनाइएको छ ।
४. हिरो एक्स्ट्रीम आर.१
EICMA मा हिरो मोटो कर्पले आफ्नो सबैभन्दा पावरफुल र स्टाइलिस मोटरसाइकल एक्स्ट्रीम आर.१को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ कन्सेप्ट मोटरसाइकल निकै सार्प र एग्रेसिप लुक्समा रहेको छ ।

कम्पनीले यसमा २०० सीसी एयरकुल्ड इन्जिन दिएको छ । यसबाहेक कम्पनीले यसको विषयमा कुनै जानकारी दिएको छैन ।
५.केटीएम ३९० एडभेन्चर
केटीएमले आफ्नो चर्चित मोडल ३९० को एडभेन्चर मोडललाई मिलानमा सार्वजनिक गरेको छ । हेर्दा निकै सार्प लुक्समा रहेको केटीएम ३९० ले सबैको ध्यान खिच्न सफल भएको हो ।

कम्पनीले यसमा ३७३.२ सीसी, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले ४४ एचपी पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले यसमा ट्रायाक्सन कन्ट्रोल र एडजस्टेवल सस्पेन्सन दिएको जनाएको छ ।
६. हार्ले डेभिड्सन वर्नएक्स
विश्व चर्चित क्रुजर मोटरसाइकल निर्माता कम्पनील हार्ले डेभिड्सनले सन् २०१८ मा पहिलो पटक सार्वजनिक गरेको ‘स्ट्रीटफाइटर ९७५’ कन्सेप्ट वार्नएक्सलाई उत्पादन मोडलमा परिणत गरेको छ ।

कम्पनीले तयार गरेको पहिलो नेकेड बाइकमा ९७५ सीसी क्षमताको भी ट्वीन इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ११५ बीएच पावर र ११२ एनएम टर्क जेनेरेट गर्छ ।
७. बेनेली लियोनसीनो ८००
इटलीयन कम्पनी बेनेलीले आफ्नो चर्चित लियोनसिनोको ८०० सिरिजलाई मिलानमा उतारेको छ । उक्त मोटरसाइकलले निकै चर्चा पाएको छ । रेट्रो थिममा निर्माण भएको ७५४ सीसी क्षमताको यो मोटरसाइकल लियोनसिनो ५०० बाट प्रेरित रहेको छ ।

७५४ सीसी प्यारल्ल ट्वीन सिलिण्डर इन्जिनले ८१.६ एचपी पावर र ६७ एनएम टर्क प्रदान गर्नेछ ।
८. सुजुकी भी स्ट्रोम १०५०
जापानी टु ह्वीलर्स कम्पनी सुजुकीले भी स्ट्रोम १०५० लाई ईआईसीएमएमा शोकेस गरेको छ । सुजुकीको यस प्रिमियम मोटरसाइकल १०३७ सीसी क्षमताको लिक्वीड कुल्ड इन्जिन दिइएको छ ।

भी स्ट्रोम १०५० मा दिइएको इन्जिनले १०७ बीएच पावर र १०० एनएम टर्क प्रदान गर्ने जनाइएको छ । सुजुकी इन्टेलिजेन्स राइड सिस्टम रहेको यस मोटरसाइकलमा आल्मुनियम फ्रेम दिइएको छ ।
९. कावाशाकी जेड ९००
कावासाकीले २०२० कावासाकी जेड ९०० सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो मोटरसाइकल निकै चर्चामा रहन सफल भएको छ । कम्पनीले यसमा दिएको नयाँ हेडल्याम्प निकै आर्कषक रहेको छ ।

यसमा दिइएको ९४८ सीसी लिक्वीड कुल्ड, इनलाइन फोर इन्जिनले ९५०० आरपीएममा १२५ बीएच पावर र ७७०० आरपीएममा ९८.६ एनएम टर्क प्रदान गर्छ ।


