एफआई इन्जिनमा हिरो स्प्लेन्डर, यस्तो छ मूल्य

काठमाडाैं । हिरो मोटो कर्पको सर्वाधिक सफल मोटरसाइकल स्प्लेन्डर आई स्मार्ट नयाँ इन्जिनमा सार्वजनिक हुने भारतको पहिलो मोटरसाइकल भएको छ । कम्पनीले आफ्नो चर्चित मोडललाई भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुरुपको इन्जिनमा बजारमा ल्याएको हो ।

नयाँ इन्जिन युक्त स्प्लेन्डर आई स्मार्टको एक्स शोरुम मूल्य ६४ हजार ९०० रुपैयाँ तोकेको छ । जुन रेगुलर बीएस ४ इन्जिनको तुलनमा ८ हजार भारुभन्दा बढीले महंगो हो । 

कम्पनीले यसमा पहिलेभन्दा केही ठूलो इन्जिन दिएको छ । यसअघि १०९ सीसी क्षमताको इन्जिन रहेकोमा नयाँ इन्जिन ११३.२ सीसीको रहेको छ । उक्त इन्जिनले ७५०० आरपीएममा ९.१ एचपी पावर र ५५०० आरपीएममा १० एनएम टर्क प्रदान गर्छ । 

कम्पनीले यसमा फियुल इन्जेक्सन सिस्टम (एफआई) इन्जिन दिएको छ । जसको कारण इन्जिनको टर्क क्षमता १० प्रतिशतले वृद्धि भएको कम्पनीले दाबी गरेको छ ।

११६ किलोग्राम कुल तौल रहेको स्प्लेन्डर आई स्मार्टमा ९.५ लिटर क्षमताको फियुल ट्याङ्की दिइएको छ । ब्रेकिङ सिस्टमलाई चुस्त बनाउन कम्पनीले अगाडि चक्कामा २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक प्रदान गरेको छ ।

नेपाल आउला ?

हिरो मोटो कर्पका उत्पादन नेपाली बजारमा नेपाल जनरल मार्केटिङ प्रालिले बिक्री वितरण गरिरहेको छ । अहिले हिरोका सबै उत्पादन भारतीय प्रदुषण मापदण्ड बीएस ४ अनुरुपको नेपाल आइरहेको छ ।

‘अहिल्यै नेपालमा बीएस ६ अनुसारको इन्जिनमा स्प्लेन्डर बाध्यकारी रुपमा आउँदैन तर, बजारको माग र हाम्रो प्रदुषण मापदण्डले अनिर्वाय गरेको खण्डमा भने आउँछ’ कम्पनीका प्रबन्ध निर्देशक अभिक ज्योतिले मेरोअटोसँग भने ।

ज्योतिको भनाई अनुसार भने तत्काल नयाँ इन्जिनयुक्त स्प्लेन्डर नेपाली बजारमा आउने छैन । मूल्यका हिसावलेपनि नयाँ स्प्लेन्टर पुरानोको तुलनामा २५ हजार हाराहारीमा महंगो हुने देखिन्छ । 


Back_to_top