असोजमा नआए पनि बजारमा इलेक्ट्रीक कारको छैन ‘सर्टेज’

काठमाडौं । दशैंको मुखमै आएको आरीघोप्टे वर्षापछिको बाढीपहिरोले चीनतर्फका नाका ठप्प भएसँगै नयाँ गाडीको आयात रोकियो ।

दशैंलाई लक्षित गर्दै चीनबाट ल्याउँदै गरेका करिब १ हजार ५०० युनिट कार बीच बाटोमै रोकिएपछि केही ब्राण्डले ग्राहकलाई भने अनुसार गाडी उपलब्ध गराउन सकेनन् ।

असोजमै गाडीको आयात रोकिन पुगे पनि त्यसअघि भएको आयातको कारण अहिले पनि धेरै कम्पनीले गाडी दिन सकेका छन् । अहिले चिनियाँ ब्राण्डको ईभी किन्न खोज्नेले केही मोडल छाडेर अरू सहजै किन्न पाउने अवस्था छ ।

भारतबाट आउने उत्पादनमा बाटोको समस्या छैन । त्यसैले यही दशैंमै तपाई गाडी किन्न खोज्दै हुनुहुन्छ भने पाउन सकिने अवस्था छ । भारत हुँदै नेपाल आएको इन्डोनेशियामा बनेको विद्युतीय कार विलिङ विङ्गो किन्न चाहनेले सहजै पाउने अवस्था छ ।

‘अहिले हामीसँग गाडी दिन सक्ने अवस्था छ । एक्सचेन्ज क्याम्पबाट धेरै गाडी बिक्री भयो । बाँकी केही युनिट छन्, दशैंलाई नै गाडी चाहिन्छ भन्नेको आवश्यकता पूरा गर्न सकिन्छ,’ कम्पनी स्रोतले भन्यो ।

विङ्गो जस्तै पारामाउन्ट मोटर्सले नै बिक्री गर्ने एमजी कोमेट पनि भारतमा उत्पादन हुने भएकाले सप्लाइमा कुनै समस्या छैन । एमजी इजेडएस ईभी र एमजी-फोर पनि राम्रै संख्यामा उपलब्ध भएको कारण किन्न चाहनेले पाउने अवस्था छ ।

‘हामी सबै गाडी दिन सक्छौं । तर, खोजेकै कलर भने पाउन भने सकिँदैन होला,’ पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले भने ।

बीवाइडी पनि ग्राहकले पाउने छन् । अहिले एटो-थ्री र डल्फिन दुवै गाडी ग्राहकले पाउने अवस्था छ । तर, डल्फिन ईभी भने सकिँदै गएकाले कलर लगायतका छनोटमा केही समस्या हुन सक्ने कम्पनीले बताएको छ ।

बीवाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन्, ‘डल्फिनमा कलर छनोटमा अप्सन पाउन नसकिएला । तर, अन्य मोडल राम्रो संख्यामा उपलब्ध रहेको छ ।’

पछिल्लो समयमा बजारमा निकै चर्चा रहेको अमोडा/जेको मध्ये अमोडा ई-५ केही संख्या उपलब्ध रहेको कम्पनीको भनाइ छ । तर, जेको जे-६ भने पाउन सकिने अवस्था छैन ।

‘जेको नयाँ आएपछि मात्रै दिन सकिन्छ । अहिलेलाई आएको सबै डेलिभरी भइसक्यो । डिलरकोमा गएको गाडी पनि सबै सकियो,’ एसपीजी अटोमोबाइलका कार्यकारी निर्देशक गौरव सारडाले भने ।

पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको जिकर एक्स भने केही संख्यामा रहेको कम्पनीको भनाइ छ ।

सेरेस ब्राण्डका गाडी ग्राहकले अहिले पनि सहजै पाउने छन् । एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको सेरेस ३ दशैंका लागि पहिले नै आयात गरेर राखेको कम्पनीको भनाइ छ । एमएडब्लू वृद्धिका बिजनेश हेड प्रसन्न पन्त भन्छन्, ‘सेरेसको सप्लाईमा समस्या छैन । अहिले पनि हामी गाडी दिन सक्छौं । तर, नामीको गाडी बाटोका कारण नाकामै रोकिएको छ ।’ एमएडब्लू वृद्धिकै दीपल एस-०७ र एल ०७ पनि केही संख्यामा स्टक रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले आयात गरिरहेको नेटा ब्राण्डको नेटाभी चाहेकै समयमा उपलब्ध छ । तर, नेटाकै एसयूभी मोडल नेटा एक्स भने स्टकमा छैन ।

सीजी मोटर्सले नै बिक्री गरिरहेको अर्को ब्र्राण्ड एवोन वाइ भने दशैंका लागि आवश्यक संख्यामा रहेको कम्पनीको भनाइ छ ।

गत नाडा अटोशोमा लन्च भएको अर्को चिनियाँ ईभी केईको एक्सथ्री प्रो पनि दशैं अगाडि नै चाहेको समयमा खरिद गर्न सकिने अवस्था छ । केईको लागि नेपाली बजारको आधिकारिक वितरक लक्ष्मी ईमोबिलीटीले केईको एक्सथ्री प्रो एसयूभी शोरुममा उपलब्ध भए पनि मिनी कार ईक्यूट भने अहिले उपलब्ध नरहेको जानकारी दियो ।

भारतबाट विद्युतीय कार नेपाल ल्याउन समस्या छैन । टाटा पन्च ईभी, टियागो ईभी र टिगोर ईभी चाहेकै समयमा खरिद गर्न सकिने अवस्थामा रहेको टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ स्रोतले बतायो ।

भारतबाटै आयात हुने सिट्रोनको ईसीथ्री र महिन्द्राको एक्सयूभी४०० दशैं अगाडि नै खरिद गर्न सकिन्छ । त्यस्तै, कोरियाबाट आयात भइरहेको हुन्डाईको कोना ईभी, आयोनिक ५, कियाको ईभी ६, ईभी ९ पनि केही संख्यामा स्टक रहेकाले ग्राहकले किन्न पाउने छन् ।


Back_to_top