विद्युतीय कारको बिक्री बढ्यो, बनेन पूर्वाधार, बढ्यो आन्तरिक पर्यटन

काठमाडौं । इलेक्ट्रीक कारको बिक्रीमा आएको उछालसँगै त्यसको लागि आवश्यक पर्ने पूवार्धार निर्माण हुन नसकेको देखिन्छ । विद्युतीय साधनको लागि आवश्यक पर्ने पूर्वाधार चार्जिङ स्टेशनदेखि सर्भिस सेन्टरसम्म प्रयाप्त संख्यामा छैनन् ।

विद्युतीय कारको बिक्रीमा उछाल आएको कुरालाई पछिल्लो दिनमा भएको आयात तथ्यांकले नै पुष्टि गर्छ । मे महिनामा कुल आयातको ९१ प्रतिशत ईभी आयात हुँदा पेट्रोल कारको हिस्सा ९ प्रतिशतमा सिमित भएको हो ।

कुनै समय पेट्रोल कारको बिक्रीमा सबैभन्दा ठूलो हिस्सा रहेको मारुती सुजुकी र हुन्डाईको आयात कमजोर भएसँगै ईभीको हिस्सा बढेको देखिन्छ । ईभीमा सबैभन्दा अगाडि बीवाइडी, दोस्रो स्थानमा टाटा र तेस्रो स्थानमा एमजी रहँदा दिपल, ओमोडा, सेरेस, नेटा लगायतका ब्राण्डले निकै राम्रो ब्यापार गरिरहेका छन् ।

विद्युतीय गाडीको बिक्रीमा उच्च वृद्धिसँगै आयातकर्ताहरु थप चिनियाँ ब्राण्ड नेपाल ल्याउन लागि परेका छन् । अहिले चल्तीका हुन् वा नामनै नसुनेका स्टार्टअप कम्पनीका उत्पादन नेपाल ल्याउन ब्यापारीहरु लागि परेको देखिन्छ ।

एक्सपेङ, जिकर, स्मार्ट, अवतार, दायून, केई, भोल्भो, जेटोर जस्ता ब्राण्ड बजारमा आउने तयारीमा छन् । यसका अलावा एनआईओ, आइएम मोटर्स, भिनफास्ट, लिप मोटर्स पनि नेपाल आउने छन् । यसका अलावा थुप्रै ब्राण्ड नेपाल ल्याउन ब्यापारीहरु लागि परेका छन् ।

ईभीमय बजार, छैन चार्जर र सर्भिस

विद्युतीय कारको प्रयोग बढ्दै गएको भएपनि उपभोक्तादेखि बिक्रेतासम्मले केही महत्वपूर्ण कुरालाई बेवास्ता गरेका छन् । ईभीको लागि चाहिने ईको सिस्टम निर्माणमा एकाध कम्पनी बाहेक अन्यको ध्यान गएको पाइदैन ।

कम्पनीहरुले चार्जिङ नेटवर्क विस्तारमा काम गरेको भने पनि उनिहरुको चार्जरले गाडी प्रयोगकर्तालाई धेरै राम्रो सर्भिस दिन सकेको पाइदैन । सरकारी मानिने नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका सिमित चार्जर ईभी प्रयोगकर्तालाई महत्वपूर्ण छन् । तर, यी चार्जर चल्तीको हालतमा भेट्टाउन कठिन हुन्छ ।

सर्भिसमा अझै बढी समस्या देखिन्छ । धेरै कम्पनीले अहिलेसम्म गतिलो सर्भिस सेन्टर पनि निर्माण गरेका छैनन् । स्पेयर पार्टस्को मामलात झनै कठिन दयनिय अवस्था छ ।

उपभोक्तालाई फाइदा धेरै

आन्तरिक पर्यटनमा विद्युतीय कार निकै उपयोगी देखिन थालेका छन् । काठमाडौंबाट पोखरा–चितवन होस् वा वर्दिया जाहाँ पुग्दा पनि ईभीमा एक हजारभन्दा बढीको विजुली खर्च हुँदैन । त्यसैले आन्तरिक पर्यटनमा ईभीको प्रयोग बढ्न थालेको हो ।

मुख्यतया संचालन लागत एकदमै कम भएको कारण विद्युतीय कारको प्रयोग गरेर देश भित्र घुम्नेहरुले आन्तरिक पर्यटनमा ठूलो सहयोग गरेको देखिन्छ ।

नेपालले विद्युत उत्पादनमा गरेको प्रगति र पेट्रोलियम पदार्थको प्रयोग घटाउने सरकारी योजनामा साथ दिन उपभोक्ता सजग रहेको कारण पनि ईभीको प्रयोग बढेको हो । साथै, नयाँ टेक्नोलोजीको प्रयोग र पेट्रोल गाडीभन्दा सस्तोमा किन्न पाएका कारण ईभीको प्रयोग उच्च बनेको हो ।


Back_to_top