काठमाडौं । इलेक्ट्रीक सवारीसाधन प्रयोगकर्ताको संख्या दिन दिनै बढी रहेका छन् । माग बढेसँगै नेपाली बजारमा नयाँ ब्रान्ड भित्रने क्रम पनि बढ्दो छ ।
हाल नेपालमा ३ दर्जनभन्दा धेरै ब्रान्डका इलेक्ट्रीक दुईपाङ्ग्रे सवारीसाधन विक्री वितरण भइरहेका छन् । यस्तोमा ग्राहकले इलेक्ट्रीक स्कुटर छनोट गर्दा कुन लिने भन्ने अन्योलता देखिन सक्छ ।
इलेक्ट्रीक स्कुटर छनोट गर्दा के कस्ता कुरामा ध्यान दिने भनेर हामीले यहाँ चर्चा गरेका छौं । अहिले नेपालमा चीन र भारतमा उत्पादन भएका इलेक्ट्रीक स्कुटर किन्न पाइन्छ ।
इलेक्ट्रीक स्कुटरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको आइसी इन्जिनमा जस्तो धेरै कम्पोनेन्टहरु नहुने हुँदा सामान्य तथा मोटर, ब्याट्री र ब्याट्री मेनेजमेन्ट सिस्टमको बारेमा ध्यान दिन जरुरी हुन्छ ।
हिमाल, पहाड र तपाईको मिश्रण रहेको हाम्रो भूगोलमा इलेक्ट्रीक सवारीसाधन खरिद गर्नु पूर्व यसको मोटर पावरको विषयमा बुझ्न जरुरी हुन्छ । काठमाडौंकै सडकमा पनि केही स्थान सानो मोटर भएका इलेक्ट्रीक स्कुटरहरु चढ्न सक्दैनन् ।
ग्राहकले आफुले प्रयोग गर्ने सडकको अवस्था अनुसार मोटर पावर बुझेर स्कुटर किन्नु पर्ने हुन्छ । सामान्यतया काठमाडौं सडकमा चलाउन पनि २.५ किलोवाट क्षमताको रेटेड पावर भएको स्कुटर किन्नु पर्ने हुन्छ । हाल बजारमा १ किलोवाट क्षमतादेखिका स्कुटहरु उपलब्ध रहेका छन् ।
इलेक्ट्रीक स्कुटर खरिदगर्दा अर्को ध्यान दिनु पर्ने भनेको नै ब्याट्रीमा हो । पुरा स्कुटरको मूल्यको आधा मूल्य ब्याट्रीलाई नै पर्ने हुन्छ । यसका साथै ब्याट्रीको क्षमता अनुसार स्कुटरले रेन्ज दिन्छ । इलेक्ट्रीक स्कुटर खासगरी सहरी क्षेत्रमा प्रयोग हुने भएका कारण १०० किलोमिटर रेन्ज राम्रो मानिन्छ ।
त्यसैले स्कुटर किन्नुअघि आफ्नो दैनिक यात्रा हिसाव गर्नु पर्छ । ब्याट्री हेर्दा यसको भोल्ट र एम्पीयरमा ध्यान दिनु पर्ने हुन्छ । ब्याट्रीको चार्जिङ लाइफ, निकालेर चार्ज गर्न मिल्छ वा मिल्दैन जस्ता विषय बुझ्नु पर्छ । स्कुटरमा हुने ब्याट्रीको चार्जिङ लाइफ ब्याट्रीको प्रकार अनुसार ८०० साइकलदेखि २००० साइकलसम्मका पाइन्छन् ।
त्यस्तै इलेक्ट्रीक स्कुटर खरिद गर्दा यसको स्पीडको बारेमा ध्यान दिनु पर्ने हुन्छ । इलेक्ट्रीक स्कुटरमा ज्यादै कम स्पीड तथा धेरै स्पीड पनि राम्रो मानिदैन । समान्यतया स्कुटर ५० देखि ८० किलोमिटर प्रतिघन्टाको स्पीड भएको स्कुटर किन्नु उपयुक्त हुन्छ ।
यसका अलावा स्कुटर आयातकर्ता कम्पनीसँग उक्त स्कुटरसँग सम्बन्धित पार्टस तथा सर्भिसको उपलब्धता के कस्तो छ भनेर बुझ्नु आवस्यक हुन्छ । विगतमा नेपाली बजारमा विभिन्न कम्पनीहरुले इलेक्ट्रीक स्कुटर विक्री गरेर विक्रीपछिको सेवामा ध्यान नदिएको हामीले देखेका छौं ।